बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक नगरपालिकामा एमालेविरुद्धको गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तोमात्र भएको टिप्पणी गरेका छन् । उनले सबै दल मिलेर घेराबन्दीमा पार्न खोजे पनि एमालेलाई कुनै आपत्ति नभएको बताए ।

 

गृहनगर दमकमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दमकवासीले पार्टीभन्दा नेता हेरेर भोट दिने विश्वास व्यक्त गरे । उनले दमकमा भएको विकास निर्माणको विरोध गर्ने दलहरु गठबन्धनमा बाँधिएकाले एमालेलाई कुनै फरक नपर्ने जिकिर गरे ।

 

‘दमकमा बन्दै गरेको भ्यूटावर देखेर तर्सिएकाहरु, सभागृह बनेको देख्न नसकेकाहरुले एमालेको सरकारको विरोध गर्ने हो । आफ्नै गाउँ, आफ्नै ठाउँमा भएको विकासको पनि विरोध गर्ने कस्ता नेता ?, कस्तो राजनीति ?,’ ओलीले भने, ‘त्यसैले विकास विरोधलाई होइन । तपाईंहरुले विकासप्रेमी नेता हेरेर भोट दिनुहोस् ।’

 

ओलीले सत्तारुढ पाँच दल मिल्दा पनि दमकमा एमालेलाई हराउने आँट गर्न नसकेको बताए । ‘दमक एमालेको गढ हो, किल्ला हो । त्यसैले पाँच दल मिल्दा पनि एमालेविरुद्ध लड्ने हिम्मत गरेनन् र राप्रपासँग मिल्न बाध्य भए,’ उनले भने । उनले केपी ओली पूर्वराजासँग मिलेको भनेर हल्ला चलाउनेलाई दमकमा एमालेविरुद्ध भएको गठबन्धनलाई हेर्न आग्रह गरे ।

 

पूर्वप्रधानमन्त्री रहेका ओलीले आगामी निर्वाचनहरुबाट देशमा तीनै तहको सरकारको नेतृत्व फेरि पनि एमालेले नै गर्ने दाबी गरे । इकान्तिपुरबाट