काँकडभिट्टा । शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंगलबार मध्यरातिदेखि भारतसँगको खुला नाका ७२ घण्टाका लागि सिल गरिएको छ । नाका ठप्प हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । नेपाल-भारत सीमा सहर काँकडभिट्टा नाकामा बिहीबार अपराह्नसम्म भारतबाट आउने यात्रु र भारततिर जाने यात्रु तथा सर्वसाधारणको बाक्लो भीड लाग्यो ।

 

प्रहरीका अनुसार बिहीबार करिब ३ हजार प्रवासी नेपाली यो नाकाबाट प्रवेश गरेका छन् । करिब एक हजार जति भारतीय पारि गएका छन् । प्रहरीका अनुसार भारतबाट आउने अधिकांश नेपाली मतदाता छन् भने भारत जानेमा सेनाका जागिरे, विद्यार्थीलगाययत छन् ।

 

धेरैजसो भारतीयहरु घर फर्किएका छन् । खासगरी चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न नेपाल र भारत दुवै देशको प्रशासनले पश्चिम बंगाल र बिहारसँग सीमा जोडिएका नाका ७२ घन्टा बन्द गर्ने सहमति गरेका थिए ।

 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले नेपाली परिचयपत्र वाहक यात्रुहरुलाई मात्रै प्रवेश गर्न दिइएको बताए । ‘नेपाल आउनेलाई नेपाली नागरिकता तथा परिचय खुल्ने कागजातका आधारमा प्रवेश गर्न दिइएको छ’, उनले भने, ‘भारततिर जानेलाई त्यतैको परिचय पत्रका आधारमा पठाइएको छ।’

 

प्रशासनले खासगरी भारतवाट आउने यात्रुलाई विशेष निगरानी गरेको छ । नाका बन्दका कारण मेची भन्सार र भद्रपुर भन्सार कार्यालयको आयात निर्यातसमेत ठप्प छ । नेपाली तथा भारतीय बजारसमेत निर्वाचनका कारण सुनसान छन् । इकान्तिपुरबाट