झापा । स्थानीय तहको निर्वाचनका तालिकाअनुसार हिजो रातिदेखि सुरु मौन अवधिमा भद्रपुरका मतदातालाई प्रभावित पार्न जिन्सी सामग्री बाँड्न लागेको भन्दै गाउँलेले एउटा ट्याक्टर नियन्त्रणमा लिएका छन्।

 

भाँडाकुँडा, प्लाष्टिकको कुर्सी र टेबल लोड गरेको मे १ त २०८७ नम्बरको ट्याक्टर बुधबार दिउँसो भद्रपुर नगरपालिका ७ स्थित बुधकरण चियाबगानको क्वाटरतर्फ गएको थियो।

 

बगानमा मजदुरी गरी बस्ने सन्थाल समुदायका मतदातालाई बाँड्न ती सामग्री ट्याक्टरमा हालेर लगेको स्थानीय बासिन्दाले दावी गरेका छन् । स्थानीयले सामग्री बाँड्नुअघि नै ट्याक्टरलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि सामान्य विवाद भएपछि प्रहरी गएको थियो ।

 

ती सामग्री मतदातालाई बाँड्न ल्याएको भन्ने स्थानीयको दावी पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए । उनले ती सामग्री त्यतिकै छोडिएको जानकारी दिए ।