अर्जुनधारा । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा सर्वत्र ढिलो भएको गुनासो आएपछि अर्जुनधारा नगरपालिकामा ‘फास्ट ट्रयाक’बाट मतगणना गर्ने सहमति भएको छ ।

 

११ वटा वडा रहेको यस नगरमा यसअघि १ नम्बर वडाबाट मतगणना गर्नेगरि सहमति भएको थियो । अहिलेसम्म १ र २ नम्बर वडाको मात्र नतिजा सार्वजनिक भएपछि ‘फास्ट ट्रयाक’बाट मतगणना गर्ने सहमति भएको हो । एकै वडाको तीन स्थानमा मतगणना हुँदा ढिलोगरि मत परिणाम आउँथ्यो ।

 

निर्वाचन कार्यालय अर्जुनधाराका अनुसार छिटोगरि मतगणना गर्ने विकल्पको खोजी गर्न सबैबाट माग आएपछि अहिले एकैपटक ३ वटा वडाको मतगणना भइरहेको छ । जसअनुसार ३, ४ र ५ नम्बर वडाको मतगणना जारी छ ।

 

पछिल्लो परिणामअनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसका उपेन्द्र बस्नेत र २ नम्बरमा नरेन्द्र श्रेष्ठले वडाध्यक्षमा विजय प्राप्त गरेका छन् । दुवै वडाको परिषद् सदस्यमा भने नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।