झापा । अर्जुनधारा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेद्वारको अग्रता कायमै रहेको छ । त्यस्तै, उपप्रमुखमा पनि पछिल्लो मत परिणामसम्म अग्रपंक्तिमै रहेको छ । पहिलो चरणको सुरुवाती अग्रता अहिलेसम्म पछि परेको छैन ।

 

अहिलेसम्म अर्जुनधारा नगरपालिकाको १ र २ नम्बर वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । दुवै वडाको अध्यक्षमा गठबन्धनका उम्मेद्वार उपेन्द्र बस्नेत र नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

 

तर, दुवै वडाको परिषद् सदस्यमा भने नेकपा एमालेका उम्मेद्वारले जितेका छन् । अहिलेसम्म गठबन्धनका कुनै पनि उम्मेद्वारले अर्जुनधारा नगरपालिकाको परिषद् सदस्यमा जीत हासिल गर्न सकेका छैनन् ।

 

दुई वटा वडाको मत परिणाम सार्वजनिक भइसक्दा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव सिंह गोम्देनले ३ हजार ३ सय मत पाएका छन् भने उपमेयर पदकी उम्मेद्वार खड्माया पराजुलीले ३ हजार १६१ मत ल्याएकी छन् ।

 

यस्तै, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार रञ्जिता कार्कीले २ हजार ५४८ मत पाउँदा उपमेयरमा माओवादीका उम्मेद्वार जितेश योञ्जनले १ हजार ७१७ मत ल्याएका छन् । यस नगरमा मेयर तथा उपमेयर पदमा तीन-तीन जनाको उम्मेद्वारी परेको छ । जसमा राप्रपाका उम्मेद्वारहरुले ५ सय मत कटाउन सकेका छैनन् ।

 

अहिले एकैपटक ३ वटा वडाको मतगणना भइरहेको छ । जसअनुसार ३, ४ र ५ नम्बर वडाको मतगणना जारी छ । ५३ हजार ७४५ कुल मतदाता संख्या रहेको यस नगरमा यसपटकको निर्वाचनमा ३८ हजार ५२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । समग्रमा ७१ दशमलव ६८ मत खसेको छ ।