झापा । झापाको शिवसताक्षी नगरपालिकाको मतगणनामा विवाद भएपछि निर्वाचन अधिकृतलाई कारबाही गरिएको छ । कारबाहीस्वरुप शिवसताक्षीमा खटिएका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

शिवसताक्षी १ मा ५४ मत हराएपछि विवाद उत्पन्न भएको हो । उक्त वडामा निर्वाचनका दिन ३ हजार ८२ मत खसेको मुचुल्का छ । तर, निर्वाचन अधिकृतको कार्यालयले आइतबार दिउँसो ३ हजार २८ मतपत्र मात्र गणना गरी अन्तिम नतिजा सार्वजनिक गरेको भन्दै पार्टी प्रतिनिधिहरुले विरोध जनाएका थिए ।

 

विवादका कारण आइतबार साँझदेखि गणना कार्य रोकिएको छ । पौडेललाई फिर्ता बोलाएर मधु पोखरेललाई नयाँ अधिकृतका रुपमा शिवसताक्षी खटाउने कार्य भइरहेको निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले जानकारी दिए ।

 

निर्वाचन अधिकृतको कार्यालयले आइतबार शिवसताक्षी १ मा वडाध्यक्षसहित एमालेको प्यानल नै निर्वाचित भएको मत परिणाम सार्वजनिक गरेको थियो । तर, ५४ मत हराएको भन्दै उक्त वडामा कानुनले सम्भव भए पुनः मतदान नभए पनि पुनः मतगणना गर्नुपर्ने कांग्रेस-माओवादी गठबन्धनको माग छ ।

 

‘५४ मत हराएको भन्नेबारे हाम्रो ध्यानाकर्षण भएको छ । त्यस विषयमा के गर्ने भन्ने कानुनी व्यवस्था छ । हामी त्यहीअनुसार अघि बढ्ने प्रक्रियामा छौं’, अधिकृत नेपालले भने । इकान्तिपुरबाट