झापा । झापाको बिर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाईं निर्वाचित भएकी छन् । नगरप्रमुखमा निर्वाचित भएसँगै झापामा महतारा पहिलो महिला मेयर बनेकी छन् ।

 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराज सिटौलालाई हराउँदै उनी मेयरमा निर्वाचित भएको निर्वाचत अधिकृत डम्बरप्रसाद काफ्लेले बताए । निर्वाचित महताराले १६ हजार ५ सय २० मत प्राप्त गरिन् भने कांग्रेसका सिटौलाले १२ हजार ७ सय ३५ मत प्राप्त गरे ।

 

उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सीपी कडरियालाई हराएका हुन् । उपमेयरमा निर्वाचित संग्रौलाले १५ हजार ५ सय ८६ मत प्राप्त गरे भने उपविजेता कडरीयाले ८ हजार ८ सय ५१ मत पाए ।

 

झापाका ३ स्थानीय तहमा मेयर पदमा महिला उम्मेदवार रहेका थिए । नेकपा एमालेले बिर्तामोडमा महतारालाई र दमकमा गीता अधिकारीलाई मेयर पदको उम्मेदवार बनाएको थियो भने कांग्रेसले अर्जुनधारा नगरपालिकामा रंजिता कार्कीलाई मेयर पदको उम्मेदवार बनाएको थियो । दमकमा गिता अधिकारी पराजित भएकी छन् । अर्जुनधारा नगरपालिकाको अन्तिम मत परिणम आएको छैन ।