झापा । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्युरो कांकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका ११ दूधेबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका ७ का १९ बर्षीय हरदिप राजबंशी, भारतीय नागरिक दार्जेलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ बर्षीय अर्जुन रोय रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले २०३.४१० (दुई सय तीन ग्राम चार सय दश मिलिग्राम) लागूऔषध ब्राउनसुगर, नगद ३८ हजार सात सय ३० रुपैयाँ र उनीहरुले प्रयोग गरेको प्रदेश १-१०-१५ प ४२१८ तथा डब्लुबी ७४ भी ६४३९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
त्यसैगरी मोरङको बेलवारी नगरपालिका ३ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पुरानो बेलबारीस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ९७७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
उक्त मोटरसाइकलको लुकिङ ग्लासभित्र लुकाई छिपाई राखिएको अवस्थामा तीन ग्राम लागूऔषध ब्राउन सुगरसहित बुढीगंगा गाउँपालिका ७ का २६ बर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।