शनिश्चरे (झापा) । किरात राई यायोक्खा अर्जुनधाराको आयोजनामा आज अर्जुनधारा ९ स्थित सालबारीमा यस वर्षको उभौली पर्व मनाइँदैछ । यहाँ रहेको साकेला थानमा पूजाआजापछि साकेला सिली प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

 

कोरोनाका कारण यसअघि उभौली पूजा हुन सकेको थिएन । यसवर्ष भने भव्यरुपमा गर्न समिति समेत गठन गरिएको छ । उभौली पूजा सम्पन्न गर्नका लागि माङ्पा (पूजारी) सुशिला राई ‘खुशे’ को अगुवाईमा एक समिति रहेको छ भने भुपा राईको अगुवाईमा स्वागत समिति निर्माण गरिएको छ ।

 

त्यस्तै उभौली पूजालाई व्यवस्थापन गर्नका लागि विजय साम्पाङको अगुवाईमा समिति निर्माण गरिएको क्या शिवकुमार राईले जानकारी दिए । राईको अध्यक्षतामा भएको भेलाले विभिन्न क्षेत्रबाट नाच टोली आउने भएको जनाइएको छ ।

 

यसैबीच, यायोक्खा झापाको आयोजनामा जेठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ समापन कार्यक्रम आयोजना गरिएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक बसेर कार्यक्रमको तयारी सुरु गरेको छ ।

 

साकेला उभौलीको अवसरमा बैशाख पूर्णिमाको दिनदेखि सुरु भई झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई किराया जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय समापन हुँदै आएको छ । सो कार्यक्रम कमल गाउँपालिका वडा नम्बर ४ र ५ को संगमस्थल साकेला चौक सितापुरी उत्तर जिल्ला साकेला थान धार्मिक वनमा हुँदै आएको छ ।

 

झापाका जिल्लाभरिका गाउँनगर तथा वडा समितिहरुको साकेला सिली प्रदर्शन साथै इलाम, मोरङ र भारत बाघडोग्राका साकेला टोलीसहित कार्यक्रममा सहभागी हुने किराया झापा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए ।