शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित उभौली पर्व (साकेला) कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलगायत नगरका अग्रज व्यक्तित्वलाई सम्मान गरिएको छ ।
किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले आयोजना गरेको कार्यक्रममा नगर प्रमुखमा निर्वाचित बलदेवसिंह गोम्देनलाई ढाका टोपी र फेटा गुथेर सम्मान गरिएको थियो । नगर प्रमुखमा निर्वाचित भएपछि गोम्देनलाई यायोक्खाले नै पहिलोपल्ट सम्मान गरेको हो ।
यस्तै, राई जातिबाट प्रतिनिधित्व गर्दै जनप्रतिनिधिका रुपमा निर्वाचित अन्य वडा नम्बर ३ की सुमनकुमारी राई, वडा नम्बर ६ का भीम राई र वडा नम्बर ११ का पूर्णबहादुर राईलाई पनि सम्मान गरिएको थियो । वडा नम्बर ७ का देवकुमार राई भने अनुपस्थित थिए ।
यसैगरी, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलाई पनि दोसल्ला (बर्को) ओढाएर सम्मान गरियो भने शनिश्चरे प्रहरी चौकीका इन्चार्ज रवि राईलाई फेटा गुथेर सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरुलाई यायोक्खाका अध्यक्ष क्या. मानबहादुर राई, प्रमुख अतिथि केवलराम राईलगायतले सम्मान व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि राई र नगर प्रमुख गोम्देनले आफ्ना भनाइ राखेका थिए ।

सोही कार्यक्रममा अर्जुनधारा, बिर्तामोड र मेचीनगरका साकेला टोलीहरुले साकेला सिली प्रदर्शन गरेका थिए । प्रकृति पूजक किरात राई जातिले मंसिरे पूर्णिमामा उधौली र वैशाखे पूर्णिमामा उभौली पर्व मनाउने गरेका छन् ।