बिर्तामोड । अन्य सहरमा जस्तै झापाको मुख्य बजार बिर्तामोडमा पनि सार्वजनिक शौचालयको अभाव भएकै बेला होटल तथा अन्य संघसंस्थाले सर्वसाधरणलाई आफ्नो शौचालय प्रयोग गर्न दिन थालेका छन् ।
मानिसहरुको धेरै आउजाउ हुने बिर्तामोडमा पश्चिम बसस्टेन्ड नजिकै रहेको सेन्टर पोइन्ट (सिपी) होटल तथा पार्टी प्यालेसले आफ्नो शौचालयलाई सार्वजनिक बनाएको सञ्चालक रितेन खरेलले बताए । प्यालेसले फ्लेक्स प्रिन्ट राखेरै सार्वजनिक शौचालय सुरु गरिएको जनाएको छ ।
बसबाट ओर्लिने तथा बस चढ्न पर्खेका यात्रुहरुलाई सो स्थानमा शौचालय नहुँदा समस्या पर्दै आएको थियो । यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै तथा काठमाडौँका नगर प्रमुख बालेन्द्र साहबाट प्रभावित भएर होटलले सार्वजनिक शौचालय प्रयोगमा ल्याएको खरेलले जानकारी दिए ।
यसैबीच, सार्वजनिक शौचालय नहुँदा बिर्तामोडमा सर्वसाधारण समस्यामा पर्दै आएका बेला बिर्तामोड ४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले पनि नागरिकका लागि शौचालय प्रयोगमा ल्याइसकेको छ ।

संस्थाका अध्यक्ष दिपेन्द्र राउतका अनुसार भद्रपुररोडका लागि संस्थाको शौचालय उपयोगी हुनेछ । भद्रपुर बसस्टेन्ड पश्चिममा रहेको शिखर साकोसले आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने अध्यक्ष राउतको भनाइ छ ।