झापा । झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका ६ बाट ब्राउन सुगरसहित २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

हिजो दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका मेचीनगर ७ का २५ वर्षीय अर्जुन बाँतर र मेचीनगर ६ का २५ वर्षीय दावा तामाङलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

यस्तै, सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र ५ सिमरवनका ५९ वर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।