झापा । समाज कल्याण उद्धार संघ (संस्था)को स्वामित्वमा रहेको जमिनमा खेलमैदान निर्माणका लागि सरकारले एक करोडभन्दा बढी रुपैयाँ लगानी गरेको पाइएको छ । अर्जुनधारा ७ फूलमती खोला किनारमा खेलमैदान निर्माणका लागि अर्जुनधारा नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले एक करोड १७ लाख रुपैयाँभन्दा बढी लगानी गरेको हो ।

 

आर्थिक वर्ष २०६६/०६७ मा युवा तथा खेलकुद मन्त्रालयले ५० लाख रुपैयाँ लगानी गरेको थियो भने सोही आर्थिक वर्षमा अर्जुनधारा नगरपालिकाले १५ लाख रुपैयाँ लगानी गरेको हो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८मा मन्त्रालयले २५ लाख रुपैयाँ लगानी गर्दा अर्जुनधारा नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेको अर्जुनधारा नगरपालिकाका इन्जिनियर निरज अधिकारीले जानकारी दिए ।

 

चालू आर्थिक वर्ष पनि मन्त्रालयले संस्थाको स्वामित्वमा रहेको खेलमैदान निर्माणका लागि ८ लाख र अर्जुनधारा नगरपालिकाको तर्फबाट ९ लाख १८ हजार रुपैयाँ बजेट छुटाइएको र सोही बजेटबाट खेलमैदानमा घेरावाराको काम भइरहेको अधिकारीको भनाइ छ ।

 

संस्थागत स्वामित्वमा भएको जमिनमा खेलमैदान निर्माणका लागि सङ्घीय सरकार र स्थानीय सरकारले कुनै कार्यविधि नै नबनाई यति धेरै लगानी गर्नुले संस्थाका सीमित व्यक्तिलाई मात्र फाइदा पुग्ने स्थानीयको भनाइ छ ।

 

२०५५ सालमा स्थापित संस्थाले यसअघि अर्जुनधारा खेलमैदान निर्माण गर्ने भन्दै सर्वसाधारणसँग रकम सङ्कलन गरेको अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले बताए । तर, सो रकमले अर्जुनधारा खेलमैदान नभई संस्थाको हितका लागि काम भइरहेको उनको भनाइ छ ।

 

साबिक अर्जुनधारा ४ मा रहेको फूलमती खोलामा पुल निर्माण गर्दा बचेको ४ लाख रुपैयाँ समेत खेलकुदको विकासका लागि खर्च गर्ने जनाएपछि संस्थालाई प्रदान गरिएको बताइएको छ । पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति झापाको १५ लाख र अर्जुनधारा नगरपालिकाको ५ लाख रुपैयाँ गरी २० लाख बजेट विनियोजन भएको थियो । सोही विनियोजित रकमबाट चार लाख रुपैयाँ बचेको र सो रकम समेत संस्थालाई प्रदान गरेको बताइएको छ ।

 

फूलमती खोला किनारमा अर्जुनधारा रङ्गशाला बनाउने भन्दै सर्वसाधारणसँग सुरुमा रकम उठाउने पछि आफ्नै संस्थालाई फाइदा पुग्ने गरी काम गर्नु आफैँमा गलत भएको अध्यक्ष भट्टराईको भनाइ छ ।

 

संस्थाका अध्यक्षसहितका पदाधिकारी नै समितिमा बसेर काम गरिरहेका छन् । राज्यबाट आएको यत्रो रकम निजी संस्थाको स्वामित्वमा रहेको खेलमैदान निर्माणमा खर्च हुँदैछ, यसले भोलि कसलाई फाइदा पुग्छ आफैँमा प्रश्न चिन्ह खडा भएको छ ।’

 

संस्थाले अहिले खेलमैदान परिसरमा घेराबेरा गरिरहेको छ । खेलमैदान पूर्णरुपमा सम्पन्न गर्न सात करोड ४३ लाख रुपैयाँ लाग्ने जनाएको छ । खेलमैदान तयार भएसँगै फुटबल, भलिबल, दौड, व्याडमिन्टन, टेवलटेनिस खेल्न सकिने बताइएको छ ।

 

स्थानीयवासी विरोधमा
प्रस्तावित अर्जुनधारा रङ्गशाला निर्माणको काम कमसल भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । चालू आर्थिक वर्षमा २० लाख २१ हजार २ सय १६ रुपैयाँ ३ पैसाको लागतमा खेलमैदान परिसरमा घेरावेराको काम भइरहेको छ । जसमा अर्जुनधारा नगरपालिकाबाट अनुदान स्वरूप ९ लाख १८ हजार, खेलकुद मन्त्रालयबाट आठ लाख र संस्था (उपभोक्ता समिति) बाट तीन लाख ३ हजार २ सय १६ रुपैयाँ ३ पैसा बजेट विनियोजन भएको संस्थाका अध्यक्ष धर्मानन्द गुरागाईँले बताए ।

 

दुई विगाह नम्बरीसहित खेल मैदानको नाममा जम्मा ५ विगाह आठ कट्ठा जमिन रहेको संस्थाका अध्यक्ष गुरागाईँले बताए । तर, संस्थाले निर्माण गरिरहेको काम कमसल भएको भन्दै अर्जुनधाराका इन्जिनियर अधिकारीले समेत स्वीकृत नगरेको बताइएको छ ।

 

यता स्थानीयवासी सञ्जय थापाले खेलमैदानको कम्पाउन्डवाल निर्माणमा कमसल इँटाको प्रयोग गरेको बताएका छन् । यो खेलमैदान प्रस्तावित अर्जुनधारा रङ्गशाला हो, तर, खेलमैदानको घेरावारा एकदमै कमसल सामग्री प्रयोग गरेर निर्माण भइरहेको छ । इँटामात्रै हेर्ने हो भने दुई नम्बरी इँटाको प्रयोग छ ।

 

यसैबीच, समाज कल्याण उद्धार सङ्घ (संस्था) र अर्जुनधारा नगरपालिकाबीच खेलमैदान निर्माणमा सम्झौता गरेको पाइएको छ । तर, काम भने संस्थाका पदाधिकारीले नै समितिमा रहेर गरिरहेका छन् । २०७६ साल भदौ ३१ गते संस्थाका तर्फबाट अध्यक्ष धर्मानन्द गुरागाईँ र नगरपालिकाका तर्फबाट रघुनाथ खनालले हस्ताक्षर गरेका छन् । खनाल तत्कालीन समयमा निमित्त प्रमुख रहेका थिए ।