पाँचथर । मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा मोटरसाइकलाई ट्याङकरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
बुधबार राति साढे एक बजे च्याङथापुबाट झापातर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्यांकरले हिलिहाङ ६ सल्लेरीमा को ५ प २३३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका ७ निवासी ३६ वर्षीय प्रेम घिसिङको मृत्यु भएको र उनकी २६ वर्षीय श्रीमती कञ्चन मगर उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शरीरका भित्री भागमा चोट लागेका घिसिङको फिदिमस्थित समर्पित अस्पतालमा उपचार हुन नसकेपछि झापाको बिएण्डसी अस्पतालका रिफर गरिएको थियो । उपचारका क्रममा उनको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँथरका प्रमुख (डिएसपी) राकेश थापाले जानकारी दिए ।
कञ्चनको भने कम्मरमुनिको भाग नचल्ने अवस्थामा छ । उनको पनि सोही अस्पतालको आईसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्यांकर चालक झापाको सुरुङ्गा निवासी निमा तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।