झापा । पछिल्लो आठ घण्टा झापाको शनिश्चरे, दोमुखा-कन्काई र आसपास भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार ५ बजेदेखि परेको पानी राति अबेरसम्म जारी थियो । महाशाखाले मेची, बिरिङ, निन्दा, केर्खा र आसपासका साना नदीमा एक्कासि बहाव बढ्न सक्ने जनाएको छ ।

 

शनिश्चरे क्षेत्रमा सर्वाधिक ६४.६ मिलिमिटर र कनकाई क्षेत्रमा २५ देखि ६० मिलिलिटरसम्म पानी परेको मापन गरिएको छ । ती साना नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

 

आइतबार पनि झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९ः४५ बजे दमक नगरपालिका ७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तीमा पसेको थियो । त्यहाँ रहेका १३ घरपरिवारलाई प्रहरीको सहयोगमा राति नै अन्यत्र सारिएको थियो ।

 

यसैगरी, रतुवा खोलामै आएको बाढीको कारण गौरादह नगरपालिका वडा नम्बर ६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा पनि परेको छ ।