अर्जुनधारा । नगरमा रहेको नगरस्तरीय खाद्य पोषण तथा सुरक्षा निर्देशक समितिलाई लक्षित गरी सोमबार सो सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।
नगरपालिका अन्र्तगतको सामाजिक विकास शाखाको आयोजनामा अर्जुनधारा–८ स्थित सामुदायिक भवनको सभाहलमा आयोजित उक्त कार्यक्रमको नगर प्रमुख बलदेवसिंह गोम्देनले उद्घाटन गरेकी थिए ।
मानव पूँजी निर्माणार्थ सहयोग गरी सक्रिय र स्वस्थ नागरिक बनाउने उद्देश्यले आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक एवम् पोषण कार्यक्रमका फोकल पर्सन विश्वनाथ श्रेष्ठले गरेका थिए ।
६२ जना भन्दा बढी सहभागीहरुको सहभागिता रहेको कार्यक्रममा पोषण र कुपोषण, पोषणको महत्व, कुपोषण रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवार निकायहरु, कुपोषणको अवस्था, नेपालका बालबालिका तथा प्रजनन् उमेरका महिलाहरुको खानपिन शैली, पोषणमा लगानी किन, बहुक्षेत्रीय पोषण कार्यक्रम र यसको कार्यान्वयन ढाँचालगायतका विषयमा जानकारी दिइएको थियो ।
नगर प्रमुख गोम्देनको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्रमा स्वागत प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले गरेकी थिइन् । कार्यक्रममा नगर प्रमुख गोम्देन, नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशीलाल परियारलगायतले पोषणको विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन शाखा प्रमुख राजविक्रम खड्काले गरेका थिए ।