अर्जुनधारा । विगत ४ वर्षदेखि दुवै मिर्गौला खराब भइ उपचरारत अर्जुनधाराकी एक मिर्गौलापीडितलाई सहयोगी हातहरुले अमेरिकाबाट आर्थिक सहयोग गरेका छन् । अर्जुनधारा १ साधुटार निवासी लक्ष्मी येक्तेनलाई अमेरिकामा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीले सहयोग गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएकी ४४ वर्षीया येक्तेन ४ वर्षदेखि विभिन्न अस्पतालमा मिर्गौलाको उपचारमा रहेकी छन् । उनलाई हाल बिर्ता सिटी हस्पिटल बिर्तामोडमा डायलासिस गराइरहेको छ भने बेलाबखत उपचार भने विराटनगरको नोवेल मेडिकल कलेजमा गराइँदैछ ।
आर्थिक सहयोग जुटाइरहेका साइनोले येक्तेनका ज्वाइँ सविन श्रेष्ठको नेतृत्वमा लक्ष्मी येक्तेन बचाउ अभियान सञ्चालन गरिएको थियो । सोही अभियानअन्तर्गत अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको हो ।
अभियन्ता श्रेष्ठका अनुसार अमेरिकामा रहेका ११४ जनाबाट संकलित ४ लाख ३० हजार ६२० रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । अमेरिकामा चार वटा संस्था किरात याक्थुङ चुम्लुङ टेक्सास, किरात सोसाइटी टेक्सास, डालास याक्थुङ ग्रुप र किरात राई सामाज टेक्सास च्याप्टरमार्फत उक्त सहयोग रकम प्राप्त भएको हो । जसको नेतृत्व सेरि ताम्लिङ सेनेहाङले गरेका थिए ।
उक्त रकम अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेतको हातबाट पीडित लक्ष्मी येक्तेन, अभियानकर्मी र परिवारलाई मंगलबार घरमै पुगेर हस्तान्तरण गरिएको छ ।
अर्जुनधारामा २०७८ माघ १८ गते लक्ष्मी येक्तेन बचाउन अभियान खडा गरिएको थियो । जसको नेतृत्व श्रेष्ठले गरेका थिए । उनका अनुसार येक्तेनको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ । उनको रेखदेखमा जुटेका सहोदर भाइ कृष्ण लिम्बूले मिर्गौला दिने सहमति भइसकेको छ । तर, आर्थिक अवस्था कमजोर भएकाले प्रक्रिया अघि बढ्न सकेको छैन ।
अभियानको आह्वानमा आर्थिक सहयोग प्रदान गर्ने सबै संघसंस्थालाई अभियानकर्ताको तर्फबाट श्रेष्ठले आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । मिर्गौलापीडित येक्तेनकी एक छोरा, एक छोरी र श्रीमान रहेका छन् । यसअघि पनि विभिन्न संघसंस्था र दाताबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।