बिर्तामोड । झापाको कनकाई नगरपालिकाको सुरुंगाबाट हराएका १२ वर्षीय बालक नभेटिँदै बिर्तामोडबाट अर्का बालक हराएका छन् । सुरुंगाका सियोन राई मंगलबार अपराह्नदेखि हराइरहेका छन् । यसैबीच, बिर्तामोडबाट एक किशोर बेपत्ता भएका छन् ।

 

साइकल कुदाउन निस्केका १२ वर्षीय सियोन यो समाचार तयार पारुञ्जेलसम्म फेला परेका छैनन् । यता बिर्तामोड नगरपालिका ७ निवासी १५ वर्षीय विदान सिवाकोटी बिहीबार बिहान ९ बजे ट्यूसन पढेर फर्किने क्रममा बेपत्ता भएका छन् । स्थानीय गङ्गाप्रसाद सिवाकोटीले आफ्ना १५ वर्षीय नाति विदान हराएकाले खोजतलास गरिदिन अस्थायी प्रहरी चौकी गरामनीमा निवेदन दिएका छन् ।

 

गहुँगोरो वर्णको, सेतो सर्ट, निलो पेन्ट लगाएको ५ फिट उचाइ भएको लेडिज साईकल लिएर ट्यूसन पढ्न गएका किशोर बेपत्ता भएपछि उनको परिवारले प्रहरी र सबैमा खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

 

उनी कञ्चनजङ्घा बोर्डिङ स्कुल बिर्तामोडका विद्यार्थी हुन् । उनले चलाउने गरेको साइकल भने बुट्टावारी चोकमा चाबी नलगाएको अवस्थामा फेला परेको छ ।

 

झापाको मुख्य सहरहरुमा दिउँसै बालकहरु हराउन थालेपछि स्थानीय अभिभावकहरु चिन्तित बनेका छन् ।