झापा । बिर्तामोडका एक बालकलाई आर्थिक अभावका कारण ब्लड क्यान्सरको उपचारमा समस्या भएको छ । बिर्तामोड ३ स्थित मेघाबारी टोलका २० महिनाका बालक युसेफ भट्टराईलाई ब्लड क्यान्सर भएको हो ।
करिब १ महिनादेखि बिरामी भएका बालकको भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा महँगो खर्चमा उपचार भइरहेको छ । दिल्लीस्थित राजीव गान्धी अस्पतालको बेडमा ब्लड क्यान्सर रोगसँग लडिरहेका उनी गत महिना एक्कासी बिरामी भएको उनका बुबा रामप्रसाद भट्टराईले बताए ।
उपचारका लागि अस्पताल लैजाँदा ब्लड क्यान्सर भएको पत्ता लागेको हो । छोरा बिरामी भएपछि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका रामप्रसादले आफू नेपाल फर्किएको बताए । उपचारमा हालसम्म ५ लाख भारतीय रुपैंया खर्च भइसकेको छ । चिकित्सकका अनुसार पूर्णरूपले निको बनाउन उपचार खर्च ३० लाख भारतीय रुपैंया लाग्ने बालकका बुबा रामप्रसादको भनाइ छ ।
‘कसरी औषधि उपचार खर्च जुटाउने आफूसँग भएको पैसा सकियो, मोटो रकम कसरी जुटाउने भन्ने चिन्ता छ’, उनी भन्छन्, ‘छोराको जीवन रक्षाको लागि दाताहरूलाई अनुरोध गर्ने बाहेक अन्य विकल्प आफूसँग छैन ।’
यति मोटो रकम आफूसँग नभएकोले छोराको जीवन रक्षाको लागि सबैमा अनुरोध गरेको बुवा रामप्रसादले बताए । उनका अनुसार सहयोग गर्ने दाता, संघसंस्थाले रामप्रसाद भट्टराईको नाममा बिर्तामोड शाखामा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्कको खाता नम्बर ०१८०५०८०२५१९६९ मा सकेको सहयोग गरिदिन भट्टराईले अनुरोध गरेका छन् ।