अमित खम्बू,
अर्जुनधारा। अर्जुनधारा नगरपालिका वडा नम्बर ४ को नवनिर्मित कार्यालय भवन पानी जहाजजस्तो देखिएको छ । पानी जहाज जसरी पानीमा तैरिरहेको अवस्थामा देख्न सकिन्छ, ठीक त्यसैगरी वडा कार्यालयको भवन माटोमाथि तैरिरहेको भान हुन्छ ।

 

सम्बन्धित निकायको बेवास्ता र ठेकेदारको लापरवाहीका कारण झापाको अर्जुनधारा ४ मा नवनिर्मित वडा समिति कार्यालयको भवनमा गुणस्तरहीन काम भएको हो । स्थानीयहरुले उक्त विषयमा गुनासो गरेपछि त्यस स्थलमा पुग्दा भवनको दक्षिण र पूर्वतर्फको सिंढीको जग निर्माण नगरेको पाइएको हो ।

 

भवन निर्माणबारे निर्माण व्यवसायी ऐतराज नेम्वाङ ‘सन्तोष’ले आँगनको लेबल हेरेर फाउण्डेशनको काम गर्नुपर्नेमा बिना फाउण्डेशन पुरुवामाथि सिंढी बनाइएको भन्दै यो मापदण्ड विपरीतको कार्य भएको प्रतिक्रिया दिए । उनी निवर्तमान नगरसभा सदस्य हुन् ।

 

बरण्डाको दक्षिण, पूर्व र पश्चिमतर्फ गरी जम्मा अनुमानित ३४ फिट र भवनको पूर्वतर्फ शौचालयको अगाडिको भागमा जग बिनाको सिंढी बनाइएको छ । हाल सोही भवनबाट सेवा शुरु गरेको वडा समितिले गत बिहीबार जमिन सम्याउने क्रममा भवनमा भएको उक्त त्रुटिबारे थाहा पाएपछि तत्काल नगरपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर निरज अधिकारीलाई जानकारी गराएको वडाध्यक्ष अम्बरबहादुर कटुवालले बताए ।

 

चालू आर्थिक वर्ष ०७८/०७९मा निर्माण सम्पन्न भई फरफारक समेत भएको उक्त भवन निर्माणको जिम्मा ठेक्का प्रक्रियामार्फत् भद्रपुरस्थित गणेश निर्माण सेवाले पाएको थियो । उक्त विषयमा प्राविधिक शाखा प्रमुख अधिकारीले आफू विदामा भएको र पछि सम्पर्क गर्ने सन्देश एसएमएसमार्फत पठाएका थिए ।

 

त्यसैगरी भवन निर्माणको क्रममा निरीक्षण गरेका नगरपालिकाका सबइञ्जिनियर सन्तोष पोखरेलले जग निर्माण नभएको क्षेत्र माटोले पुरेका कारण आफूले यस विषयमा थाहा नपाएको गैह्रजिम्मेवार जवाफ दिएका छन् । नगरपालिकामा रहेको धरौटी रकमबाट ठेकेदारलाई उक्त त्रुटि सच्याउन लगाउने छौं– उनले थप आफ्नो भनाइ राखे ।

 

त्यसैगरी भवन निर्माणको ठेक्का पाएका ठेकेदार कुसुम गिरीलाई सम्पर्क गरिए पनि फोन उठेन । यता यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलाई जानकारी गराउँदा आफू इलाममा रहेको र बुधबार प्राविधिकलाई भवन निरीक्षणको लागि पठाउने प्रतिक्रिया दिइन् ।