अर्जुनधारा । आजबाट साउन महिना सुरु भएको छ । यो महिना भगवान शिवको महिना हो, बोलबम उत्सवको महिना पनि हो । साउन महिनाभर बोलबम जाने चलन भए पनि साउनको सोमबार विशेष गरेर देशका विभिन्न शिव मन्दिर र धामहरुमा श्रद्धालुहरुले जल चढाउने चलन रहेको छ । त्यस्तै साउने सोमबारहरुमा झापाको अर्जुनधारा जलेश्वरधाममा पनि लाखौं भक्तजनले जल अर्पण गर्ने र धार्मिक मेलामा सहभागी बन्ने गरेका छन् ।
पहिले झापाको पवित्र कनकाई माई नदीबाट जल लिएर अर्जुनधारामा चढाउने चलन थियो । आजभोलि त्यो क्रम अत्यन्तै कम भएको छ । केही श्रद्धालुहरुले मात्र कनकाईबाट जल दिएर अर्जुनधारामा चढाउने गर्दै आएका छन् । पछिल्ला वर्षहरुमा अर्जुनधाराकै अर्जुन पोखरी पञ्च धाराबाट जल थापेर शिवालयमा जल चढाउनेहरुको संख्या बढेको छ । त्यस कारणले पनि अर्जुनधारमा श्रद्धालुको धेरै घुइँचो लाग्ने गरेको छ ।
तर, बोलबमको महत्व भनेको शुद्ध पवित्र जल लोटा, घैलामा बोकेर केही दूरी पैदल हिँडेर कुनै पनि शिवालयमा चल चढाउनु पर्ने धार्मिक मान्याता रहेको पाइन्छ । परिर्वतित समयअनुसार मानिसमा सहज र सुविधा अनिर्वाय बनेको छ । टाढा टाढा पुगेर जल बोकेर ल्याउन भक्तजनहरु असमर्थ बन्न थालेका छन् । त्यस्तोे अवस्थाले बोलबम जानुको आनन्द र फरक अनुभूति पनि अर्जुनधारा पुग्ने श्रद्धालुहरुले महसुस गर्न पाइरहेका छैनन् ।
तर, त्यही अर्जुनधारामा रहेका केही स्थानीयहरुले भने बोलबम पैदलयात्राको आनन्द पनि लिने गरेका छन् । त्यो अवसरका लागि धेरै श्रद्धालुहरु बञ्चित रहेका छन् । नयाँ धार्मिक गन्तव्य स्थल बन्नसक्छ, बोलबमका लागि अर्जुनधारामै रहेको डाङग्रे बाबा धाम ।
अर्जुनधाराबाट जल उठाएर डाङग्रे बाबामा लगेर चढाउन सकिन्छ । अर्जुनधार मन्दिरबाट करिव ५ सय मिटरको दूरीमा रहेको अदभूत र रमणीय स्थलमा रहेको छ डाङग्रे बाबा-सेतीदेवी-माता पाथीभरा धाम ।
डाङग्रे बाबा भनेको के हो ?
डाङग्रे बाबा भनेको भगवान शिवको अर्को नाम हो । खासमा डाग्रिया बाबा हो तर अपभ्रंश भएर डाङग्रे बाबा भएको धार्मिक गुरुहरुको भनाइ रहेको छ । भारतको असाम राज्यमा डाग्रिया बाबाको प्रशिद्ध धाम रहेको छ ।
अर्जुनधारा जलेश्वरधामको उत्तर गेटबाट करिव २ सय मिटर पश्चिममा चौबाटो रहेको छ । त्यही चौबाटोबाट करिव ३ सय मिटर उत्तरतर्फ देब्रेपट्टि ठुलो बर-पिपलको वृक्ष रहेको छ । सोही स्थलमा पर्छ डाङग्रे बाबा धाम ।
झापाको अर्जुनधारा-७ पाराखोपीस्थितमा रहेको डाङग्रे बाबा धाम हिन्दु र किरात धर्मावलम्बीहरुको साझा आस्थाको थलो रहेको छ । डाङग्रे बाबा धामको बारेमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङले भनेका छन्, डाङग्रे बाबा देशकै पहिलो धाम हो ।
धामका उत्पतिकर्ता धर्मगुरु विकास राईले विश्वमा भारतपछि दोस्रो देशको रुपमा नेपालमा उत्पत्ति भएको डाङग्रे बाबाकोे मानभाव पु¥याउन सक्दा सबैको कल्याण हुने बताएका छन् ।
डाङग्रे बाबासँगै सेतीदेवी, साइँली पाथिभरा माता लगायत देवीदेवताको प्रतिमा स्थापना गरिएको छ । उक्त धाममा समितिले हप्ताको सातैदिन विशेष पूजा गर्दै आएको छ ।