सुरुंगा । झापाको झापा गाउँपालिका ५ सिमलडाँगीमा आज बिहान आगलागी हुँदा ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आज (बुधबार) बिहान करिब ३ बजे अवदुल करिम अलीको घरको विद्युतीय मिटर सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । मिटर सर्ट हुँदा अवदुलको घरसहित आसपासमा रहेका अवदुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पुर्णरुपमा जलेर नष्ट भएको हो ।
मानवीय र चौपाया क्षति नभए पनि घरहरु पूर्णरुपमा जलेकाले घरभित्र रहेका लत्ताकपडा, अन्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो अहिले नियन्त्रणमा लिइसकेको स्थानीय साजेमान शेखले जानकारी दिए ।