काठमाडौँ । गतवर्ष साउनदेखि जेठसम्मको अवधिमा देशभर ज्यानसम्बन्धी कसुरका ७ हजार ४०३, बलात्कारका २ हजार १३८ घटना प्रहरीमा दर्ता भएको छ । सो अवधिमा देशभर कर्तव्य ज्यानको ५४८, ज्यान मार्ने उद्योगका ९६२ घटना भएको प्रहरीले जनाएको छ ।
२०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र काठमाडौँ उपत्यकामा गरी कर्तव्य ज्यानसम्बन्धी ५४८ वटा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कर्तव्य ज्यानका घटना प्रदेश १ मा सबैभन्दा धेरै भएको पाइएको छ ।
गतवर्ष साउनदेखि जेठसम्मको ११ महिनामा प्रदेश १ मा ११२ वटा हत्याका घटना भएका छन् । यस्तै, मधेस प्रदेशमा १०४, लुम्बिनीमा ९८ र काठमाडौँ उपत्यकामा ४२ जनाको हत्या भएको छ । यसै गरी बागमती प्रदेशमा ६०, गण्डकीमा ४२, कर्णालीमा ३७ र सुदूरपश्चिम प्रदेशमा ५३ जनाको हत्या भएको छ ।
हत्यामा संलग्न आरोपितमध्ये अधिकांश कानुनी दायरामा आएका छन् । थोरै सङ्ख्यामा फरार आरोपितको खोजी हुनुका साथै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए । सो अवधिमा ९६२ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् । भवितव्यमा परेर ४ हजार १५२ जनाले ज्यान गुमाएका छन् ।
गतवर्ष साउनदेखि जेठसम्म एक हजार ५२२ वटा फुटकर ज्यान सम्बन्धी घटना भएका छन् । बेवारिसे अवस्थामा भेटिएका र पहिचान नखुलेका घटनालाई प्रहरीले फुटकर ज्यान सम्बन्धी घटना भन्ने गरेको छ । ११ महिनामा प्रहरीले गर्भ संरक्षणविरुद्ध कसुर गर्ने ३३ जनालाई मुद्दा चलाएको छ ।
प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार ११ महिनामा ७ हजार ४०३ जनाले ज्यान सम्बन्धी कसुरका कारण ज्यान गुमाएका छन् । गाई, गोरु मारेको १६ वटा घटनामा प्रहरीले कानुनी कारबाही गरेको छ ।
समीक्षा अवधिमा ५ हजार ९४३ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार झुण्डिएर सबैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ४ हजार ९५० जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता राईले बताए ।
प्रदेश १ मा सबैभन्दा धेरै एक हजार १७४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशमा ९०६ जना र काठमाडौँ उपत्यकामा ३४८ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार विष खाएर ८९७ जनाले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या गर्नेमा मधेस प्रदेशमा सबैभन्दा धेरै अर्थात् १६१ जना छन् ।
आगो लगाएर १३ जना, हाम फालेर ३८ जना, हातहतियारको प्रयोग गरेर १७ जना र पानीमा हाम फालेर २८ जनाले आत्महत्या गरेका छन् । रातोपाटीबाट