झापा । झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् ।तीनै जना किशोरीले सामूहिक आत्महत्या गरेको घटनाले गाउँ नै शोकमा डुबेको छ ।

 

कचनकवल गाउँपालिका ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

 

दुईजना एउटै हाँगामा र अर्की एक जना अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई तत्काल खबर गरेका थिए ।

 

सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल–५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना रहेका छन् । तीनै जना किशोरीहरू चिया बगानमा काम गर्दै आएका थिए ।

 

सामूहिक आत्महत्याको कारण भने नखुलेको जनाइएको छ । घटनाबारे अनुसन्धान सुरू गरिएकाे प्रहरीले जनाएकाे छ ।