झापा । एउटै रुखमा तीन किशोरी झुन्डिएको घटनाको वास्तविकतासहित सत्य तथ्य छानबिन गर्न दबाब दिँदै कचनकवलको बनियानीमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । नेपाल गनगाई कल्याण परिषद् झापा र स्थानीय भ्वाइस अफ गनगाई कम्युनिटीको आयोजनामा विद्या निकेतन मावि र कचनकवल माविका विद्यार्थीहरूले प्रदर्शन गरेक हुन् ।

 

बनियानी चोकबाट सुरु भएको र्याली बजार परिक्रममा गर्दै कचनकवल गाउँपालिकामा आएर कोणसभामा परिणत भएको थियो । त्यसपछि नेपाल गनगाई कल्याण परिषद् र भ्वाइस अफ गनगाई कम्युनिटीले गाउँपालिका र इलाका प्रहरी कार्यालय बनियानीलाई ज्ञापनपत्र बुझाएका थिए ।

 

भ्वाइस अफ गनगाई कचनकवलका अध्यक्ष रघुनन्दन गणेश र उपाध्यक्ष चन्दन गणेशले गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक कुलप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

गत साउन ८ गते आइतबार बिहान साढे ७ बजे कचनकवल गाउँपालिका ५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारमा रहेको बयरको रुखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १७ वर्षीय छोरी कल्पना कुमारी झुन्डिएको अवस्थामा मृत फेला परेको थियो ।

 

यो घटना आत्महत्या वा हत्या निकै पीडादायक र शङ्कास्पद छ । घटनाको सत्य तथ्य छानबिन, पीडितहरूलाई न्याय तथा दोषीमाथि कारबाहीको माग ज्ञापनपत्रमा राखिएको छ ।

 

यसैबीच, घटनाको बारेमा सत्य तथ्य छानबिनका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले डीएसपीको नेतृत्वमा थप अनुसन्धान टोली खटाएको छ ।

 

प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज ढुंगानाको नेतृत्वमा पाँच सदस्य अनुसन्धान टोली गठन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता नविन राज राईले जानकारी दिए ।

 

सो टोलीमा प्रदेश प्रहरी कार्यालयसहित नेपाल प्रदेश प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी कर्मचारी रहेका छन् । डीएसपी ढुंगानासहितको टोली बुधवार नै घटनास्थलतर्फ खटाइसकेको एसपी राईले बताए ।

 

प्रहरी कार्यालय झापाले पनि सो घटनाको विषयमा अनुसन्धान गरिरहेको बताउँदै एसपी राईले भने, ‘झापा प्रहरीलाई थप सपोर्टका लागि प्रदेशबाटै अनुसन्धानका लागि टोली खटाएको हो ।’