काठमाडौँ । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई जाने तयारीमा थिए । श्रीमान् श्रीमतीका रूपमा ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले प्रहरी प्रधान कार्यालयमा पठाएको थियो ।
जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ । सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका सन्तोष लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनचाँदी र उनीहरुले गर्ने अन्य कारोबारमाथि समेत शंका लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । कैलालीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।
ढोका बन्द भएर उड्न लागेका बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेको हो । प्रवक्ता खड्काका अनुसार जहाज उड्न कम्तीमा २ घण्टा लाग्नेछ । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने उनले बताइन् ।
काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो । इकान्तिपुरबाट