इलाम । डाक्टर गोविन्द केसीले हिजो (सोमबार)देखि इलामबाट जनतालाई सेवा दिन सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । उनले २० दिनसम्म सेवा दिनेछन् ।

 

डा केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु गरिएको बताए । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनको भनाइ छ ।

 

२७ वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् । त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन् ।

 

डाक्टर केसीले इलामबाट उपचार दिन थालेपछि इलाममा हाडजोर्नीका बिरामी उपचार गराउन आउनेको सङ्ख्यासमेत वृद्धि भएको छ । गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन् ।

 

डा केसीले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन् । उनले आउने भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा दिने जनाइएको छ ।

 

इलाम अस्पतालले उनलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । उनले आवश्यक सहयोगसहित सुरक्षा गार्डको समेत व्यवस्था गरिएको बताइएको छ ।