इटहरी । सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ वर्षीया सिर्जना ओझा, २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा शहिदभूमि गाउँपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने ३४ वर्षीय विर्तसिंह राई र उनकी श्रीमती ३५ वर्षीया पवित्रा राई रहेका छन् ।
गत २० गते बेलुका ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउनसुगर १ ग्राम १५० मिलिग्राम र ७ हजार नगदसहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुबाट ब्राउनसुगर बिर्तसिंह राई र उनकी श्रीमती पबित्रा राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुलेसँगै प्रहरी टोलीले बिर्तसिंह राईलाई ईटहरी उपमहानगरपिका ५ स्थितमा फेला पारी शरीर तलासी लिंदा ब्राउनसुगर ६ ग्राम ७६० मिलिग्राम फेला परेको थियो ।
थप ब्राउनसुगर ३३ ग्राम ९० मिलिग्राम राई दम्पतीको डेरामा खानतलासी लिँदा करुवाभित्र लुकाइराखेको अवस्थामा फेला पारिएको थियो भने डिजिटल तराजु र २७ हजार ३ सय नगदसमेत बरामद भएको छ ।
लागुऔषध कारोबारमा संलग्न रहेका चारै जनाविरुद्ध ईलाका प्रहरी कार्यालय ईटहरीबाट सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।