अर्जुनधारा । नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधाराले २८औं विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर स्थानीय तहमा निर्वाचित आदिवासी जनजाति जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
सामुदायिक भवनमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलगायत १६ जना निर्वाचित वडाध्यक्ष तथा सदस्य जनजाति जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ र वडा नम्बर ११ का अध्यक्ष खगेन्द्र इङ्नामलाई सम्मान गरिएको थियो ।
यस्तै, सम्मानित जनप्रतिनिधिहरुमा मदनकुमार लिमेल, देवकुमार राई, बलबहादुर समाल, चन्द्रमाया तामाङ, सुमनकुमारी राई, जीतबहादुर लिम्बू, चन्द्रकुमारी तामाङ, भिम राई, मनोज रैका मगर, बुद्धिमान लिम्बू, रुपेश लिम्बू, र पूर्णबहादुर राई रहेका छन् ।
सम्मानित हुनेहरुलाई प्रमुख अतिथि आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष भरतकुमार श्रेष्ठ, प्रदेश सांसद बृख प्रधान, निवर्तमान नगर प्रमुख हरिकुमार राना, नगर प्रमुख बलदेव सिंह गोम्देनलगायतले सम्मानपत्र प्रदान गरिएको थियो ।
महासंघ अर्जुनधाराका उपाध्यक्ष कर्णबहादुर तामाङले स्वागतसँगै कार्यपत्र पेश गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, प्रदेश सभा सदस्य प्रधान, निवर्तमान नगर प्रमुख राना, नगर प्रमुख गोम्देनले आफ्ना भनाइ राखेका थिए ।
महासंघका सचिव भिमकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा विभिन्न जातीय संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कलाकारले विभिन्न जातिको नृत्य प्रस्तुत गरेका थिए ।