बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यस वर्ष अग्रज पत्रकार भिमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ ।

 

पूर्वअध्यक्ष सम्मिलित प्रतिभा छनोट समितिको मंगलबार बसेको बैठकले पत्रकार भिमा सिवाकोटीलाई पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । पूर्वअध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा पांँ सदस्यीय प्रतिभा छनोट समिति रहेको छ ।

 

यसैबीच, फोनिज झापाकी अध्यक्ष भूमिका लिम्बूको अध्यक्षतामा मंगलबार नै बसेको बैठकले छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

 

२०५९ सालदेखि कञ्चनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी पूर्वउपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् । यही साउन २७ गते महासंघको २३औं स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने उक्त पुरस्कारको राशि नगद २५ हजारसहित ताम्रपत्र रहेको छ ।

 

यसैगरी उदीयमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपी वान टेलिभिजनका झापा सम्बाददाता विष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि जनही पाँच हजारसहित प्रसंशा पत्र रहेको छ ।

 

२०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बांग, माधब बिद्रोही, इन्द्रसिंह राजवंशी र कमन देवान पुरस्कृत भएका छन् ।