ताप्लेजुङ । एक जना विद्यार्थीमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि ताप्लेजुङको मैवाखोला माध्यमिक विद्यालय बुधबारदेखि बन्द गरिएको छ ।

 

ज्वरो आएका कक्षा १० का विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १० दिनका लागि बन्द गरिएको प्रधानाध्यापक भक्तबहादुर लिम्बूले बताए ।

 

मैवाखोला गाउँपालिका वडा नम्बर २ मा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम समुदायका धेरै जना बिरामी देखिएको बताउँछन । ‘अलि अस्ति हाम्रो वडा सचिव पनि बिरामी बन्नुभयो, समुदायका अरु पनि बिरामी भएको पाइयो,’ वनेमले भने, ‘अहिले ठीकै छ भन्ने सूचना आएको छ ।’

 

परीक्षणका लागि एन्टिजेन किटलगायतका सामग्री स्वास्थ्य केन्द्रमा रहेको र विशेष सावधानी अपनाउने काम भइरहेको वनेमले बताए । इकान्तिपुरबाट