बिर्तामोड । पत्रकार भीमा शिवाकोटी डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज झापाले आज शिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
बिर्तामोडमा आयोजित समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवानले शिवाकोटीलाई दोसल्ला ओढाएर नगद र ताम्रपत्रसहित पुरस्कृत गरेका हुन् । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।
फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाका अनुसार पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठित समितिले सिवाकोटीलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।कार्यक्रममा स्वर्गीय पत्रकार विरहीको विषयमा फोनिजका पूर्व अध्यक्ष रमेश समदर्शी राईले प्रकाश पारेका थिए ।
यसैगरी, सम्मानित व्यक्तित्वको बारेमा पूर्वअध्यक्ष गणेशमान मुखियाले प्रकाश पारेका थिए भने फोनिजको स्थापना, औचित्यबारे पूर्वअध्यक्ष दिपिन राईले चर्चा गरे । कार्यक्रममा विभिन्न संगठनका नेतृत्वले स्व. डिकमान विरहीको योगदानबारे चर्चा गर्दै फोनिजले स्थापना गरेको पुरस्कारको प्रशंसा गरेका थिए ।
यसैबीच, फोनिजले बर्सेनि प्रदान गर्दै आएका उदीयमान पत्रकारिता पुरस्कारबाट एपिवान टेलिभिजनका झापा सम्वाददाता बिष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई जनही पाँच हजारका दरले पुरस्कृत गरेको छ ।
२०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दीपिन राई, मदन ढकाल, रमेश समदर्शी, भीम नेम्बाङ, माधव विद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भइसकेका छन् ।

सोही कार्यक्रममा फोनिजले स्थापना गरेको अक्षयकोषका लागि अध्यक्ष भूमिका फियाक लिम्बूले नगद १० हजार पूर्वअध्यक्ष गणेशमान मुखियालाई हस्तान्तरण गरिन् । अक्षयकोषको रकम बढाउन फोनिज लागिपरेको भन्दै सहयोगी हातहरुलाई उनले आग्रह पनि गरेकी छन् ।