झिलझिले । झापाको कनकाई नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान शिवसताक्षी नगरपालिका वडा नं १० का वर्ष ३१ का रवी जोगीको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

सरदारे खोलाको साइफनमा अड्किएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए ।

 

प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाएको छ भने घटनाको थप अनुसन्धान पनि सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

यसअघि कनकाई नहरमै पौडी खेल्न गएका एकै गाउँका दुई बालबालिकाको डुबेर मृत्यु भएको थियो । शिवसताक्षी ९ आइतबारेका ११ वर्षीया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको थियो ।

 

गत बिहीबार दिउँसो ४ बजे सुन्दास र राई घर नजिकैको कनकाई सिँचाई आयोजनाको नहरमा पौडी खेल्न गएका थिए । साँझ अबेरसम्म उनीहरू घर नफर्किएपछि परिवारजनले खोजतलास गर्ने क्रममा नहरको डिलमा उनीहरूले लगाएको कपडा र चप्पलमात्र फेला पारेका थिए ।

 

प्रहरी र स्थानीयले उनीहरूको खोजतलास गर्ने क्रममा कपडा राखिएको स्थानदेखि ४ किलोमिटर पश्चिम शिवसताक्षी ७ स्थित सताक्षी खोलामा दुवै जना पानीमा डुबिरहेको अवस्थामा मृत फेला पारेको प्रहरीले जनाएको थियो ।