बिर्तामोड । तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापित डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीनजना पत्रकार पुरस्कृत भएका छन् । झापाको बिर्तामोडमा आज (बुधबार) आयोजित एक समारोहका बीच उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

 

पुरस्कृत हुनेमा पत्रकारहरु जीएन शर्मा, राजु पाठक र लीलाराज झापाली रहेका छन् । पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्की र विशेष अतिथि प्रदेश १ सरकारका कृषिमन्त्री झलकसिंह दर्लामीले पत्रकारहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित पुरस्कार रकम प्रदान गरे ।

 

कोरोना भाइरसको संक्रमणका कारण अघिल्ला वर्षमा स्थगित भएको पुरस्कार वितरण समारोह यसपटक आयोजना गरी तीनजना पत्रकारलाई एकैपटक पुरस्कृत गरिएको प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीले बताए ।

 

जनपक्षीय पत्रकार आचार्यलाई तत्कालीन शाही नेपाली सेनाले २०५९ साउन ७ गते पक्राउ गरी चारआलीस्थित सैनिक व्यारेकमा लगेर मारेको थियो । उनको स्मृतिमा प्रेस सेन्टरले पुरस्कार स्थापना गरी बर्सेनि वितरण गर्दै आएको सचिव उद्धव पुरीले जानकारी दिए ।

 

प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष रेग्मी र प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा रहेको समितिले पुरस्कृत प्रतिभा छानेको हो ।

 

पुरस्कृत प्रतिभामध्ये शर्मा चौतारी पोष्ट अनलाइनका सम्पादक हुन् । काँकडभिट्टा निवासी शर्मा लामो समयदेखि झापाको पत्रकारितामा क्रियाशील छन् । पाठक मेची खवर साप्ताहिकका सम्पादक हुन् । उनी भद्रपुरमा बस्छन् ।

 

पछिल्लो पुस्ताका मेहनती पत्रकार झापाली गोरखापत्र दैनिकमा काम गर्छन् । आफ्नै सम्पादन प्रकाशनमा उनले कनकाई साप्ताहिक चलाइरहेका छन् । आचार्यको स्मृतिमा स्थापित यो पुरस्कारबाट यसअघि चन्द्र भण्डारी, लीला बराल, दीपिन राई, बिमल लामिछाने, केशव भट्टराई पुरस्कृत भइसकेका छन् ।