धरान । भोजपुरबाट धरान ससुराली आएको दुईदिन नबित्दै धरान ८ गुम्बामार्गमा ४१ वर्षीय रामबहादुर रम्तेलले आफैं घाँटी रेटेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि रम्तेलले ७१ वर्षीया सासू नरमाया भुजेललाई बिहीबार राति खुकुरी प्रहारी गरी गम्भीर घाइते बनाएका थिए ।
धरान ८ का वडाध्यक्ष धनबहादुर राईका अनुसार विवाद र आत्महत्याको विस्तृत विवरण प्रहरीले अनुसन्धान गरिरहेको छ । ज्वाईं रामबहादुरले टाउकोमा खुकुरी प्रहार गरेपछि घाइते भएकी नरमायालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले पनि उपचार गर्न नसकेपछि विराटनगरको एक अस्पतालमा रिफर गरेको वडाध्यक्ष राईले बताए । यता घाँटी रेटेका रामबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक रामबहदुरको घर भोजपुरको पौवादुम्बा गाउँपालिका ५ सानोदुम्मा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामबहादुरको श्रीमती करिब डेढ महिनाअघि दुबईमा वैदेशिक रोजगारमा गएकी छन् । मृतक रामबहादुर दुई दिनअघि भोजपुरबाट धरान आएर धरान १३ स्थित भाडामा बसेका जेठा छोरासँग भेटघाट गरेर ससुराली आएका थिए ।
ससुराली आएको बेला सासूसँग वैदेशिक रोजगारमा गएकी श्रीमतीसँग केही समयदेखि खटपट भइरहेको विषयमा सामान्य कुराकानी हुँदाहुँदै वृद्ध सासूलाई एक्कासि खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।