लिलक सिटौला,
अंग्रेजीमा म त कमजोर नै थिएँ, अरु विषयमा अब्बल भए पनि त्यो विषय भनेपछि डर लाग्थ्यो । ममात्र होइन, मेरा साथीहरु पनि कमजोर थिए । हाम्रो साथीहरु अर्थात् ब्याजीहरुको पनि अंग्रेजी पढाइ निकै कमजोर थियो । त्यही कारण पनि हाम्रो मत मिलेको थियो । अरु ब्याजीहरु प्ञ्चायत प्रवेश हुँदा पनि हामीहरु चाहीँ पञ्चायती व्यवस्थालाई मिल्काउने भावनाले प्रेरित थियौँ ।

 

त्यो बेला कम्युनिष्ट विद्यार्थीहरुको बिगबिगी थियो । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा हामी धेरै कम थियौँ । जे भए पनि हामी विद्यार्थीबीचको एकता कायम थियो । त्यसमा लोकबन्धुको ठूलो भूमिका रह्यो । अहिलेको गठबन्धन भन्दा त्यो बेलाको व्यवस्था परिवर्तन गर्ने एकता राम्रो थियो, असल थियो ।

 

इलामको मालपुवा, बम्बइसन, सेल रोटी, बोक्रा भएको आलु, चनाको सब्जीहरुको मिश्रित स्वाद, आहा ! क्या मज्जा । अलिकति सिलाम, गाईको घिउ आदि, सबै खान भ्याएका थियौँ । हाम्रा साथीहरुले रोगी मानिसहरु पनि निरोगी हुने ठाउँ इलाम बजार थियो । हामीहरुको काम पढाइभन्दा पनि लडाइँमा बित्दथ्यो । खाली निहूँ खोज्ने प्रवृत्तिको विकास भएको थियो ।

 

त्यो बेला पञ्चायत समर्थक विद्यार्थी नेता विष्णु शिवाकोटी हुनुहुन्थ्यो, वहाँ मेरो नाताले भान्जा पर्नुहुन्थ्यो । मामा कांग्रेसमा, भान्जा पञ्चायत यस्तै जीवन खेला थियो त्यो बेला । जे जस्तो अवस्था आए पनि त्यसबेलाको जिन्दगी राम्रो र रमाइलो थियो मसँग केही नभए पनि म चर्चामा थिएँ । इलाम बजारदेखि गोल बजारसम्म मभन्दा मसँग बस्ने साथीहरु जेठो भएका थिए ।

 

हामी विद्यार्थी, हामीसँग खानेकुराको अभाव भो । बिहीबार एउटा क्लास लाग्थ्यो । पढाइ सकियो र म बजारतर्फ बढेँ, लता बहिनीले, ‘दाइ खाजा खाउँ भन्नुभयो । मैले हुन्छ’, भनेँ । जेरी, मालपुवा, चना र आलुको सब्जी खाएर हामी छुटेका थियौँ । पैसा बहिनीले तिरेकी थिइन् । त्यसपछि चामलको जोहो गर्न म साझातर्फ लागेँ । त्यस सहकारी साझा संस्थाका व्यवस्थापक तारा चौहान हुनुहुन्थ्यो । मैले आफ्नो परिचय दिएँ । वहाँले तिम्रो नामै काफी छ, एक बोरा उसिना चामल लैजाउ पैसा पर्दैन भन्नुभयो । त्यो उसिना चामल बोकेर लाने मेरो अवस्था थिएन । दाइ म भोलि आउँछु भने, ‘वहाँले हुन्छ भन्नुभयो । म ढुक्क भएँ ।’

 

भोलिपल्ट प्रदिप, चुडामणीलाई ५, १० केजीको दरले बोकाएर गोलाखर्क पुर्याएको दृश्य… कति इमानी थियो । तारा चौहान जागिर पञ्चायतमा खाए पनि पञ्चायती विरोधी हुनु हुँदोरहेछ, मैले त्यो बेलामा थाहा पाएको थिएँ । प्रदिप, चुडामणी र मोहन शिवाकोटीलाई उसिना चामलको भात कसरी पकाउने भन्नेबारेमा थाहा थिएन । मैले सिकाएपछि सबैले खाना मिठा हुँदोरहेछ भने । मेरो एक जना अभिभावक दिदी हुनुहुन्थ्यो, सुलोचना कर्मचार्य । वहाँ प्रजातन्त्रप्रति धेरै गहिरो आस्था राख्नुहुन्थ्यो ।

 

इलाम बजारमा धेरै साथीहरुको सहयोग र समथर्न बढेको थियो । त्यो कुराको सूचना पञ्चायत प्रशासनलाई पनि थाहा भयो । यसको अर्थ हामीप्रति पञ्चायती सरकारले आँखा गाडेको थियो । तर, जसले आँखा गाडे पनि, जे गरे पनि सबै विद्यार्थी एक हुँदा प्रशासनले केही गर्नु सक्तैन थिए । त्यो कुरा खुसीसँगै महत्वपूर्ण पनि थियो । हामी भने अलिक सशंकित भएका थियौँ । केही निहुँ पाए, केही भेटे पञ्चायत व्यवस्थाको विरोधमा निहुँ खोज्ने चलन र बानी नै भएको थियो । हाम्रो एकता देखेर प्रशासन पनि मौन रहेको थियो ।

 

जेहोस्, एकता नै सबै संगठनको बल रहेछ । हामी अर्थात् अरु कम्युनिष्ट साथीहरुको मेलमिलापको कारण हामीबीच केही झमेला आउँदैनथे । रमाइलो संगठन इलाममा गरेका थियौँ । मैले आफू बाँच्ने संगठन बारुले खोलेको थिएँ । यसको मतलब इलाममा हामीलाई कसैले छुने हिम्मत गर्दैनथे । त्यसमा पनि मेरो एउटा मित्र खेम शिवाकोटी गोलाखर्कबासी, त्यो जमानाको फिरोज खान ।
– शनिश्चरे, झापा