झापा । श्रम पोख्न दुवई गएर अलपत्र परेका तीन जना युवालाई व्यवसायी दुर्गा प्रसाईले उद्धार गरेर स्वदेश ल्याएका छन् । दाङ, तुलसीपुरका गोविन्द केसी, नवलपरासी गैडाकोटका सन्दीप तिमिल्सिनना र खोटाङ वोयङका चन्द्रबहादुर बुढाथोकीलाई प्रसाईले उद्धार गरेर शुक्रबार स्वदेश ल्याएका हुन् ।

 

प्रसाईले उद्धार गरेर ल्याएका युवाहरुका अनुसार उनीहरु लामो समयदेखि दुवईमा अलपत्र थिए । खोटाङका बुढाथोकीबाट २ लाख सात हजार रुपैयाँ लिएर दलालले नौ महिनाअघि ‘भिजिट’ भिषामा दुवई पुर्याएका थिए ।

 

दुवई उडाउनु अघि दलालले उनलाई खान, बस्नसहित मासिक १३ सय दिराम (नेरु ४५ हजार) तलब हुन्छ भनेका थिए । तर, उनले त्यहाँ गएर एक दिन पनि काम गर्न पाएनन् । भिजिट भिषामा लैजाने दलालहरुको समूहले उनलाई दुवईको सारजहामा डेढ महिना र सारजाबाट अलकुज भन्ने ठाउँमा लगेर पाँच महिना राखे ।

 

दुवईका सडकमा भोक–भोकै सुतेका बुढाथोकीले भने, ‘दुर्गा प्रसाईले नभेट्नु भएको हुन्थ्यो भने यसबेलासम्म हामी ज्यूँदो रहदैनथ्यौं होला ।’, उनले थपे, ‘मेरा लागि भगवान नै भएर दुर्गा प्रसाईले उद्धार गरिदिनु भयो । तर, अब घर गएपछि ऋण कसरी तिर्ने ? सोच्दा पनि बित्थामा बाँचिएछ जस्तो लाग्छ ।’

 

नवलपरासी गैडाकोटका तिमिल्सिना प्लस टु पास गरेर घरमै बसिरहेका थिए । दुवईमा राम्रो काम पाईन्छ भनेर त्यसअघि नै त्यहाँ पुगेका उनका साथीले फोनमा सुनाए । साथीले नै भिजिट भिसा पठाई दिएपछि उनी धन कमाएर परिवारमा सुख र खुशीका दिन ल्याउन डेड वर्ष अघि दुवई उडे ।

 

जहाजको टिकटका लागि उनले ८५ हजार तिरेका थिए भने त्यहाँ पुगेर एक हजार डलर बुझाएका थिए । तिमिल्सिनाले फिलिपिनोको ‘सप्लाई’ कम्पनीमा काम पनि पाए । एक वर्षसम्म काम राम्रै थियो ।

 

तर, पछिल्लो चार महिना यता कम्पनीले उनलाई तलब दिन छाड्यो । यसपछि उनी कोठाबाट सडकमा आइपुगे । उनलाई पनि कम्पनीले चार महिनासम्म तलब नदिँदा सडकमा भोकभोकै सुत्न बाध्य भए । एक महिनाअघि दुर्गा प्रसाईले सडकमै भेटेपछि होटलमा बस्ने, खाने व्यवस्था गरिदिएका उनी सुनाउँछन् । ‘सडकमा बस्दा, सुत्दा गर्मीले शरीर सबै पाकेको थियो । औषधि उपचार गरिदिनु भयो । उहाँले नै नेपाल ल्याइदिनु भयो’, उनले भने ।

 

यसैगरी, दाङका केसी गएको होलीको समयमा साढे चार लाख रुपैयाँ तिरेर भिजिट भिषामै दुवई गएका थिए । केसीका शब्दमा उनलाई नेपालबाट गजेन्द्र बोहोरा नामका दलालले उडाएका थिए भने दुवईमा लक्ष्मण गुरुङले अलपत्र बनाएका थिए । एक महिनाअघि दुर्गा प्रसाईले भेटेपछि मात्र बाँच्ने आश पलाएको उनी सुनाउँछन् ।

 

प्रसाईले उद्धार गरेपछि मात्र तीन जना युवाहरुबीच एक अर्कामा चिनजान भएको उनीहरुको भनाइ छ । दुवईमा उनीहरुको विजोक देखेपछि मानवीय कर्तव्य पूरा गर्न आफूले उनीहरुलाई सहयोग गरेर स्वदेश ल्याएको प्रसाई बताउँछन् ।

 

 

झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रसाई भन्छन्, ‘म एमाले भएर, कुनै राजनीति गर्न उनीहरुलाई सहयोग गरेको होइन । दुवईमा उनीहरुको बिजोक हेर्न नसकेर मानवताको नाताले सहयोग गरेको हुँ ।’ यसअघि पनि प्रसाईले दुवईमा दुर्घटनामा परी कोमामा पुगेकी महिलालाई उद्धार गरेर ल्याएका थिए भने त्यहाँका अस्पतालमा अलपत्र दुई वटा शव ल्याइसकेका छन् ।