अर्जुनधारा । मजदुर नेता देउकुमार राई शनिबार आयोजित एक कार्यक्रममा अचम्मित बने । उनी जनप्रतिनिधि पनि हुन् । तर, भर्खरै निर्माण सम्पन्न भएको भवनको घरबेटीले उनलाई सम्मान गर्दा जीवनमै पहिलोपल्ट मजदुरका रुपमा सम्मानित भएको अनुभव सुनाइरहेका थिए ।

 

झापाको अर्जुनधारा नगरपालिका ७ मा साडे ४ तले व्यावसायिक भवन भर्खरै बनेको छ । त्यो भवन निर्माणका क्रममा सहभागी भएका मजदुरलाई घरबेटी तथा मेची क्याम्पस भद्रपुरका पूर्व प्रमुख तथा स्थानीय कमलप्रसाद गुरागाईले मजदुर सम्मान कार्यक्रम राख्दा मजदुरहरुको संगठन क्यूपेक नेपालका केन्द्रीय सदस्य राईलाई पनि सम्मान गरिएको थियो ।

 

सम्मानपछि उनले भने, ‘मेरो २७ वर्षको जीवनमा पहिलोपल्ट घरबेटीबाट सम्मान पाएँ ।’ घर निर्माणपछि कहिले पनि घर बनाउने मजदुरलाई फेरि बोलाउने नगरको अनुभव साट्दै उनले श्रमको सम्मान गर्ने परम्परालाई सबैले अनुशरण गर्नुपर्नेमा उनको जोड थियो ।

 

घरबेटी गुरागाईंको लगानीमा निर्माण गरिएको उक्त व्यापारिक भवनलाई गुरागाईं कम्प्लेक्स नाम दिइएको छ । झापाको पुरानो बजार शनिश्चरेदेखि करिब ५ सय मिटर पश्चिम, पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधामदेखि पूर्वपट्टि रहेको भवनको निर्माण लागत १ करोड २५ लाखमा सम्पन्न भएको गुरागाईंले बताए ।

 

यसैबीच, कुशे औंसीको अवसर पारेर कम्प्लेक्स निर्माणमा संलग्न श्रमिकहरुलाई सम्मानित गरिएको छ । लगानीकर्ता परिवारका सदस्य एवम् समाजिक व्यक्तित्व धर्मानन्द गुरागाईंको अध्यक्षता र अर्जुनधारा ७ वडा समितिका अध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा १३ जना श्रमिकलाई क्याप र टिसर्टसहित रुद्राक्षको माला लगाउँदै सम्मान प्रदान गरियो ।

 

यसरी सम्मानित हुनेहरुमा सञ्जयकुमार शाह, अर्जुन दनुवार, मनोज चौधरी, प्रकाश लिम्बू, भरत दनुवार, सीताराम चौधरी, भरत चौधरी, प्रदीप विश्वकर्मा, शान्तिदेवी दर्नाल, मोहन लिम्बू, शेरबहादुर भूजेल, विनोद ढकाल र विष्णु चौधरी रहेका छन् ।

 

आफ्नै वडा र छरछिमेकलाई बोलाएर गरिएको कार्यक्रममा बोल्दै वडाध्यक्ष खतिवडाले अब मजदुर सम्मान कार्यक्रमलाई टोलमा, गाउँमा र वडामा मात्र सीमित नराखी सिंगो नगरमै विस्तार गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका अधिकांश वक्ताहरुले श्रमिकलाई गरिएको सम्मान पहिलोपल्ट देखेको भन्दै घरबेटी गुरागाईं र कम्प्लेक्स निर्माणको जिम्मा पाएका मेदनीप्रसाद ढुङ्गेलको प्रशंसा गरिएको थियो ।

 

कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देल, स्थानीय अम्बिकाप्रसाद खतिवडालगायतले मन्तव्य राखेका थिए । लगानीकर्ता गुरागाईंले कार्यक्रमको औचित्यमाथि प्रकाशसँगै स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सम्मान कार्यक्रमका परिकल्पनाकार ढुङ्गेलले गरेका थिए ।

 

२३.५ धुरमा ११ महिना १५ दिनमा सम्पन्न भएको कम्प्लेक्समा १३ वटा कोठा, दुई वटा सभाहल, बाथरुम, शौचालय आदि रहेको बताइएको छ ।