बाहुनडाँगी (झापा) । मेचीनगर ४ मा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा ‘साइरन’ मेसिन जडान गरिएको छ । शनिबार विद्युतीय साइरनको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरे ।

 

उज्यालो नेपालका पूर्व अध्यक्ष एवम् स्वयमसेवक रमेश थापाले सो साइरन मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । व्याट्री, प्यानल बक्स, तार र साइरन गरी करिब ६० हजार मुल्य बराबरको साइरन जडान गरिएको हो ।

 

उक्त साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवज सुनिने थापाले बताए । साइरनमा मोवाइल एप्स जोडेर प्रत्येक व्यक्तिको हातहातमा हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।

 

‘साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ’ उज्यालो नेपालका स्वयमसेवक थापाले भने, ‘त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउँदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ ।’

 

बर्दीयाबाट आएका थापाको टोलीमा कोशी आरक्षणका प्रमुख रमेशकुमार यादव, राष्ट्रिय प्रकृति संरक्षण कोषका वीरेन्द्र गौतम लगायत रहेका थिए ।