काठमाडौँ । सरकारले आउँदो मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश सभा चुनावका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । यसअघि पालिका चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

 

उनीहरूका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । ४० दिनका लागि म्यादी प्रहरीले तलब, रासन, पोसाकलगायत सबै भत्तासहित जोडेर झन्डै ५० हजार रुपैयाँ हाराहारी तलब प्राप्त गर्नेछन् । यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ ।

 

म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा ४९ हजार दुई सय ६० रुपैयाँ तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार रुपैयाँ नाघ्नेछ ।

 

म्यादी प्रहरीले तलब मात्रै ३४ हजार सात सय ६० रुपैयाँ प्राप्त गर्नेछन् । त्यसका साथै रासनबापत सात हजार दुई सय रुपैयाँ पाउनेछन् । तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्ने हुँदा केही थपिने छ । पोसाकका लागि छ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले (ज्याकेट खरिद) मा एक हजार रुपैयाँ थप पाउने छन् । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ ।

 

यस्तै आवतजावत भाडा खर्च एक हजार रुपैयाँ दिइनेछ । खाजा खर्च चार दिनको प्रतिदिन तीन सयका दरले पाउने छन् । यो खर्च भने सबै प्रहरीले पाउने छन् । म्यादी प्रहरीका लागि मापदण्ड तय हुँदैछ । आउँदो असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।