लिलक सिटौला,
त्यो दिन मेरो मित्र लोकबन्धुको पनि पढाइ रहेछ । क्याम्पसमा त्यो बेला के पढ्ने भन्ने त्यसै दिन तोकिएको हुन्थ्यो । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा एक विषय शिक्षाको थियो, अर्को विषय अर्थशास्त्र । त्यस बेलामा जेहोस्, विद्यार्थीहरुले एसएलसी दिएपछि कहाँ जाने भन्ने समस्या थिएन, पढ्न पाइन्थ्यो ।

 

क्याम्पसमा क्याम्पस प्रमुख राजेन्द्र सुवेदी हुनुहुन्थ्यो । सरहरु एकराज भट्टराई, बुद्धि घिमिरे, धरणीधर गौतम, उमाराम प्रसाई, युद्ध वैध, राजेश्वर सर, धर्म उप्रेती, सुरेन्द्र शाह, इन्द्रदेव शाह, रामचन्द्र पराजुली, आङदेम्बे म्याम (नाम बिर्सिएँ) लगायत हुनुहुन्थ्यो । लोकबन्धुजी मभन्दा एक ब्याज अगाडि हुनुहुन्थ्यो । तर, पनि त्यस बेलामा राजनीति बहसमा हामी मिलेका थियौँ । हामी क्याम्पसभित्र कक्षामा पठनपाठनमा थियौँ । इलाम बजार त्यसबेला सानो थियो । तर, पनि सदरमुकाम नै थियो । हाम्रो क्याम्पसभित्र इलाम बजारबाट एउटा अशुभ खबर आयो । खबरीहरु पनि पञ्चायती विरोधी थिए । बस, हामीले पाएको जागिर सफल जस्तो भयो । त्यसमा तलब, भत्ता हुँदैनथ्यो । आफैँ गर्नु पर्दथ्यो ।

 

खबर के आयो भने, एउटी लाटी छोरी मान्छेलाई पञ्चायत सरकारको असईले जबरजस्ती बलत्कार गरेको घटना थियो । हामी सबै आगो भएका थियौँ । हामी सबैखाले विद्यार्थी बसेर छलफल गर्यौँ, लोकबन्धुको टिम र हामी थोरै नेविसंघको टिम बसेर भोलि क्याम्पस समयमा सरहरुसँग सल्लाहमा जुलुस निकाल्ने सहमति भयो । त्यसबेलाको डिएसपी सायद मगर थरका थिए । तर, त्यसबेला एउटा सिपाहीले गल्ती गरेको सजाय माथिल्लो नियकाले भोग्नु पथ्र्यो ।

 

सहमतिको निर्णयमा सर्वप्रथम टंक बस्नेत, लोकबन्धु, मेरो बारुले संगठन र लोकबन्धुजीको विश्वासी मान्छेहरु अर्थात् कम्युनिष्ट आन्दोलनलाई बढाउने साथीहरु, पहलमान बस्नेत, वीरबहादुर बुढाथोकी, चन्द्र सुब्बा, डम्बरसिंह तुम्बाहाम्फे, धोज तुम्बाहाम्फे, ज्ञाननाथ सिलवाल, तिलविक्रम इधिङ्गो, तोयानाथ नेपाल, राजेन्द्र नेम्बाङ आदि । त्यतिमात्र होइन, धेरै साथीहरुको मेलमिलापले भोलिको कार्यक्रम तय भो । त्यसमा दुर्गा खरेल, बेना उप्रेती, खेम शिवाकोटी बाहिरबाट इलाम बजारबासीको पनि समर्थन रहेको थियो ।

 

पञ्चायती जासुसहरुलाई यो कुरा थाहा थियो । उता क्याम्पस प्रमुख राजेन्द्र सुवेदीदेखि पढाउने सरहरुले पनि हाम्रो निर्णयलाई स्वागत गरेको मैले मित्र लोकबन्धुबाट थाहा पाएँ । बजारभित्रका साथीहरु दावा लामा, रमेश डिसी, निवाज गुरुङ, भक्तराजहरु धेरैले पनि साथ दिने भएका थिए । त्यो बेला हामीले कृष्ण भक्तराजबाट धेरै सहयोग पाएका थियौँ । बलत्कार काण्डको विरोधमा हामीले सम्पूर्ण विद्यार्थीहरुलाई सडकमा उतारेका थियौँ । त्यस विरोधमा मेरा मित्र लोकबन्धुको ठूलो हात थियो । आन्दोलन र जुलुसको अगुवाइमा म र मेरा साथीहरु दिपेन्द्र सेन्दाङ, केदार थापा र लोकबन्धुहरुको साथीहरुको थियो ।

 

विशाल र्याली भो । लाटीको बलत्कार काण्डपछि हामी पढाइ छाडेर सडकमा थियौँ । इलाम क्याम्पसदेखि जुलुस लिएर हामी धेरै संख्यामा इलामको पूर्वतिर मालापथसम्म पुगेका थियौँ । त्यहाँसम्म पुग्दा पञ्चायती पुलिसको छजीमा आगो लागिसकेको थियो । मलाई अझै याद आउँछ, त्यो बेला दसैँतिहार अर्थात कुनै पर्व थिएन । हामी जुलुसको सफलता देखेर हामी सबै उकाली ओरालीको जुलुसबाट गलेको अवस्थालाई मध्यनजर गरेर दाइ नै भन्थे तोयानाथ भट्टराईकी धर्मपत्नी यशोधा भट्टराई भाउजुले आन्दोलनकारीलाई सेल रोटी पकाएर खाएको हिजो जस्तो लाग्छ ।

 

वहाँ भर्खरै बित्नुभयो, भाउजुप्रति हार्दिक श्रद्धाञ्जलि । वहाँ हाम्री बहिनी लता भट्टराईकी ममतामयी आमा हुनुहुन्थ्यो । तोयानाथ भट्टराई इलाम जिल्लाकै पुराना नेता हुनुहुन्थ्यो वहाँहरुको त्याग र तपस्याबाट आएको प्रजातन्त्र अहिले जोगाउन साह्रो भएको छ । प्रतिबन्धित अवस्थाको रोटीको मूल्य अहिलेका नेता र कार्यकर्ताहरुले बुझेको भए, देश यसरी अघि बढ्ने थिएन… ।