उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ स्थित गोवाटारका एकै परिवारका ३ जनाको हत्या गरेको आरोपमा स्थानीय ४३ वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बस्नेतलाई आज पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको छ । घटना शुक्रबार बिहान ११ बजेतिरकाे हाे ।

 

गत शुक्रबार बिहान गोवाटारस्थित वाबिङ खोलामा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, बस्नेतकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको शव धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

 

 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षकसहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नरबहादुर बस्नेतले उक्त घटना घटाई तत्काल घटना स्थलबाट फरार रहेको भन्ने खुल्न आएसँगै तत्काल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोजतलासमा खटिएको थियो ।

 

खोजतलासमा खटिएको प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटेबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनी पैदलै हिँडिरहेको अवस्थामा घटनामा प्रयोग भएको खुकुरीसहित पक्राउ परेका थिए । प्रहरी नियन्त्रणलगत्तै प्रारम्भिक अनुसन्धानकै क्रममा उनले भाइ-बुहारी र भतिजको हत्या गरेको स्वीकारी बयान दिएका थिए ।

 

घरायसी विवादका कारण बस्नेत परिवारको हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । पक्राउ परेका बस्नेतको जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।