इलाम । इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मेची राजमार्गको भालुझोडामा दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपाकिला ४ श्रीअन्तुका रत्नकुमार थापा मगरको मृत्यू भएको हो ।
इलाम मेची राजमार्गस्थित कन्याम-जोरकशल सडक खण्डको रोङ ४ भालुझोडामा सडक खण्डमा झापाबाट इलाम आउँदै गरेको मे. ४ प ८३५५ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको मे. १ ख ६५४ नम्वरको ट्रकसंग दुर्घटनामा हुँदा मोटरसाइकल चालक थापा घाइते भएका थिए ।
उनलाई उपचारका लागि झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको अस्पताललाई उदृत गर्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्चार्ज बलराम गिरीले जानकारी दिए ।
ट्रकलाई ओभरटेक गरेर अगाडि बढ्ने क्रममा मोटरसाइकल अनियन्त्रित भइ ट्रकको मुनीको भागमा पसेको जनाइएको छ । अपराह्न ४ बजेतिर भएको दुर्घटनामा परि थापाको मृत्यू भएपछि ट्रक चालक इलाम सूर्योदय नगरपालिका ९ का बिमल तामाङलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
मृतकको उमेर र अन्य कुरा खुल्न सकेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनापछि ट्रक चालक फरार भएकाे बताइएकाे थियाे ।