डा. केआर खम्बू,

इतिहासमा चउनी पोखरीः
चउनी पोखरीको किनारामा बसेको पनि ५९ वर्ष भएछ । २०२० सालदेखि यस पोखरीमा आएका बिभिन्न परिवर्तनहरू हेर्ने नजिकको साक्षी भइएछ । सुरुमा यो यस क्षेत्रको सबैभन्दा ठूलो प्राकृतिक पोखरी थियो । त्यो बेला भालुखोपबाट टटुवामारी जाँदा डुङ्गामा तरेर जान पर्थ्यो । त्यो बेला यो पोखरी घना साल मिश्रित जङ्गलले घेरिएको थियो । यहाँको सुन्दर मौलिक सिमसार पारिस्थितिक प्रणालीभित्र वनस्पति र जन्तुका अनेकन विश्व प्रसिद्ध प्रजातिहरूका नमूनाहरू पाइन्थे । समग्रमा यो पोखरी जैविक विविधताको खानी थियो ।

 

आजभोलि, मान्छेको आवश्यक्ता पूर्ति गर्न अवैज्ञानिक तरिकाले प्राकृतिक श्रोतहरूको दोहन गर्दा जलवायुमा प्रत्यक्ष असर परेर नानाथरीका सङ्कटहरू देखा परिरहेका छन् । यस्तो सङ्कटबाट चउनीपोखरी पनि अछुतो रहन सकेन । किनभने यसको छेउछाउका सबै वन जङ्गलहरू मासिइसके । यस क्षेत्रका पर्यावरण पनि सोही जलवायु परिवर्तनको चपेटामा परेर अनावृष्टि, अल्पवृष्टि तथा अतिवृष्टिले गर्दा कृषि उत्पादनमा ठूलो असर पर्दै गयो ।

 

यस्तै पर्यावरणीय सङ्कट निकट आइरहेको खतरालाई मध्यनजर राखेर करिब तीन दशक अघिदेखि चउनीपोखरी सिमसारलाई स्वस्थानीय वासस्थानको रुपमा विकास गर्दै यहाँका मौलिक प्रजातिका कछुवाहरू र समग्र जैविक विविधतालाई पुनर्स्थापना गर्ने उद्धेश्य लिएर बनाइएको एक परियोजनाको नाउँ थियो, चउनी सिमसार तथा कछुवा संरक्षण केन्द्र । उक्त योजनामा पोखरीको पारिस्थितिक प्रणालीलाई पुनर्स्थापना गर्दै यस क्षेत्रको जैविक विविधता संरक्षण गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको थियो ।

 

यस पोखरीको सिमसार तथा जैविक विविधता पुनर्स्थापना गरिएमा यहाँका मौलिक वनस्पति तथा जन्तुहरूका वासस्थान पुनर्स्थापित हुनेछ अनि यहाँबाट लोप भइसकेका कैयन प्रजातिहरूका पनि पुनरागमन हुनेछन् भन्ने अवधारणा उक्त परियोजनाको थियो । उदाहरणको लागि वनस्पतिमा साल, सतिसाल, खयर, साज, बर्रो, हर्रो, जामुना, क्यामुना, टाटरी, पाडारी, डुम्री, रुद्राक्ष, खमारी, थाकल, जडिबुटी आदि यसको परिसरमा पुनर्रोपण गरी हुर्काउने कार्यक्रम थियो।

 

यसैगरी जन्तुहरूमाः माछाहरू (सोलीमुखे माछा, चुचे गइची, बाम, टेङ्ग्रा, माङ्ग्री, सिंही, बुवाली, पोठी, च्याङा आदि), उभयचरहरूः (बाघे भ्यागुतो, पाङ्ग्रे रूख भ्यागुतो, तीन धर्के रूख भ्यागुतो, सिक्रे भ्यागुतो, बेलून घमण्डी भ्यागुतो आदि), सरीसृपहरूः (सुन कछुवा, ढकने नरमखबटे कछुवा, मुजुरप्वाँखे कछुवा, छाते कछुवा आदि), छेपारा र सर्पहरूः (सुन गोहोरो गनगुवाली, गोमन, धामन, बिराले सर्प आदि), चराचुरुङ्गीहरूः (भुडीफोर गरुड, राजगरुड, सारस, बकुला, विभिन्नखाले हिउँदे आगन्तुक हाँस परिवारका चराहरू आदि) पुनर्स्थापित वासस्थानमा फर्काउने योजना थियो ।

 

चउनीपोखरीः हिजोको योजनामा
उपरोक्त उद्धेश्यहरू प्राप्त गर्नको लागि बनाइएको चउनी पोखरी संरक्षण परियोजनामा निम्न अनुसारका संरचनाहरू राखिएका थिएः “यस पोखरीको विद्यमान क्षेत्रलाई करिब २१ फिटको चौडाइ भएको माटोको बाँधले घेराउ गर्ने, उक्त बाँधको माझमा मानिस हिँड्न सक्ने सानो पैदल बाटो (फूटट्राक) बनाउने, फुट ट्राकको दुबै साइड विभिन्न प्रजातिका बिरुवाहरू (माथि उल्लेख भएअनुसार)का वृक्षारोपण गर्दै हरित पेटी बनाउने, हरितपेटीको फूटट्राकको छेउतिर पर्यटकहरू घुम्दा थकाइ मार्ने फलैचाहरू बनाउने, उक्त वृक्षारोपणलाई सुरक्षा गर्न हरित बाँधको बाहिरी किनारामा मज्बूत तार बारले घेर्ने, पर्खाल निर्माण गर्दा त्यसको फेदीबाट पोखरी बाहिर वर्षातमा पर्ने पानी पोखरीभित्र पस्ने (इनलेट)को व्यवस्था गर्ने, विशेषगरी विभिन्न प्रजातिका (माथि उल्लेख गरिएअनुसार) कछुवा पालन तथा संरक्षण गर्न पोखरीभित्रको किनारातिरको झारपात भएको दलदले हिलेमाटो भाग यथावत राख्ने, मूलबाटोतिर परेको पोखरीको भागलाई थोरै क्षेत्र पुरेर अथवा यसको साइडमा पर्ने निजी जग्गालाई लिजमा लिएर होस् वा किनेर अफिस कम्प्लेक्स, जस्तै मुख्य प्रवेशद्वार, अनुसन्धान गर्ने प्रयोगशाला कम कार्यालय, पर्यटक सूचना केन्द्र, सुरक्षाको लागि पालेघर आदि संरचनाहरू निर्माण गर्ने आदि कार्यक्रमहरू परियोजनामा राखिएका थिए ।“

 

यो माथिको योजना अनुसार पोखरीको निर्माण कार्य भएको भए चउनी सिमसारको संरक्षण बढी र पोखरीको व्यवसायीकरण अर्थात दोहन कम हुने थियो । यस प्रकारको प्रकृतिक श्रोतको दोहन कम तर संरक्षण बढी हुने परियोजनालाई प्रकृतिमुखी (Eco-centric) संरक्षण कार्य भनिन्छ । यसमा पोखरीको सिमसार पारिस्थितिक प्रणालीलाई पुनरस्थापित गर्दै जैविक विविधता संरक्षण कार्यलाई उच्च प्राथमिता दिइन्छ ।

 

चउनी पोखरीः आजको योजनामा
हाल पर्यटन तथा संस्कृति मन्त्रालय, प्रदेश नं १ सरकारको बजेट र गौरीगञ्ज गाउँपालिकाको सहकार्य र सञ्चालनमा नयाँ परियोजनाअनुसार चउनीपोखरीमा निर्माण कार्य भइरहेको पाइयो । उक्त निर्माण कार्य गर्ने निर्माण व्यवसायी कम्पनीका सुपरभाइजर खपिन रेग्मीजी हुनु हुँदोरहेछ । उहाँसँग भेटेर चउनी पोखरीमा अहिले भइरहेको निर्माण कार्य सम्बन्धि जानकारी मागियो । उहाँको भनाइ यस्तो थियोः

 

खपिन रेग्मीः
“प्रदेश नं १ पर्यटन तथा संस्कृति मन्त्रालयको बजेट र योजना साथै गौरीगञ्ज गाउँपालिकाको सञ्चालनमा आफूहरूले यहाँ निर्माण कार्य सुरु गरिरहेको, सम्बन्धित निकायले दिएको परियोजनाको नक्सा बमोजिम नै पोखरीको संरचनाको बिभिन्न आइटमहरू बनाइँदै गरेको, पोखरीको दक्षिणतिरको मूलबाटोसँग जोडिएको किनाराबाट उत्तरतिर करिब १०० मिटर भित्रसम्मको पोखरीको भागलाई माटोले पुरेर कार्यालयका बिभिन्न आइटमहरू (Office complex) सहित पार्किङस्थल बनाउने कार्य भइरहेको, पोखरीको परिधिलाई अन्दाजी ३० मिटर (?) चौडा बाँधले घेरेको, उक्त चौडा बाँधको माझबाट मोटर गाडी कुद्ने बाटो बनाइरहेको, बाटाको दुबै साइडमा फूलबारी बगैँचा बनाउने, आगन्तुकहरू बस्ने फलैचा तथा टहराहरू बनाउने योजना रहेको, विशेषगरी उक्त बाटोको बाहिरी किनारातिर बालबालिका खेल्ने चिल्ड्रेन पार्क बनाइँदै गरेको, बाँधको पोखरी पानी भएको भित्री भाग र बाहिर खेत बारीतिर पर्ने किनारामा कङ्क्रिट वालले घेरेको, बाँधको यस्तै संरचनाको बीच बीचमा आगन्तुकहरूलाई छहारी दिनेगरी वृक्षारोपण पनि गर्ने बृहत कार्यक्रम भएको” कुरा निर्माण व्यवसायी कम्पनीका सुपरभाइजर खपिन रेग्मीजीले निर्माणस्थलमा भइरहेका कार्यहरूलाई देखाउँदै बताउनुभएको थियो । “

 

उक्त पोखरीको निर्माणाधिन कार्यको स्थलगत निरीक्षण पनि निर्माण व्यवसायी खपिन रेग्मीजीकै अगुवाइमा सम्पन्न गरिएको थियो । उक्त अवलोकन कार्यक्रममा स्थानीय बुद्धिजीवीहरू तथा नागरिक समाजका अगुवा नेता तथा कार्यकर्ताहरू क्रमशः विष्णु न्यौपाने, सुरेन्द्र राई, बुद्धिराज तामाङ, राजेन्द्र राई, मिलन राई, सन्दीप राई, लिकुवाली राई, बलराम राजवंशी (एमाले वडाध्यक्ष), हर्क तामाङ (एमाले वडा सचिव), मिमिराज राई चउनी सिमसार संरक्षण समितिको सचिव, खपिन रेग्मी निर्माण व्यवसायी कम्पनीका सुपरभाइजरलगायतको सहभागिता थियो ।

 

अबको चउनीको भविष्यः?
अहिले निर्माणाधिन चउनी पोखरीको संरचनालाई सरसर्ती अवलोकन गरेपछि के महसुस गरियो भने अब यो पोखरीलाई सिमसार संरक्षण गर्ने होइन पर्यटकीय पार्क निर्माण गर्नेतिर उन्मुख देखियो । यहाँ बढी व्यवसायिकरण गर्न प्राविधिक कार्य भइरहेको पाइयो। पर्यावरणीय दृष्टिकोणले कुनै पनि प्राकृतिक श्रोतलाई यस प्रकारले रुपान्तरण गर्दै भौतिक तथा आर्थिकआर्जन गर्ने साधनमा परिणत गर्ने प्रक्रियालाई प्रविधिमुखी परियोजना (Techno-centric) परियोजना भनिन्छ । हो, यही उदाहरणसँग मिल्दोजुल्दो कार्य चउनी पोखरीमा अहिले भइरहेको पाइयो । अब चउनी पोखरी एक प्राकृतिक सिमसारको रूपमा नरहेर एउटा गतिलो पानीटङ्की (water reservoir) मा परिणत भएछ ।

 

यहाँको संरचनालाई हेर्दा यो झापा जिल्लाको जामुनखाडी जस्तै एक आधुनिक सुविधायुक्त पर्यटकीय स्थलको ढाँचामा बनिरहेको देखियो । जामुनखाडी पनि प्रारम्भमा एक प्राकृतिक सिमसार नै थियो तर त्यसलाई पनि व्यवसायीकरण गरेर अहिलेको नामुद मनोरञ्जन स्थलमा रुपान्तरण भएको छ । मेरो दृष्टिकोणमा यस चउनी सिमसारलाई सुखानी शहीद स्मृति उद्यान, सालबारीको ढाँचामा लगेर प्रकृति संरक्षणमुखी उद्यान निर्माण होस् भन्ने थियो तर अहिलेको चउनी पोखरीका योजनाकारहरूको दृष्टिकोणमा जामुनखाडीको पार्कजस्तो आर्थिक आय आर्जनको मुख्य स्रोत बनाउने अवधारणा रहेछ । फरक यति हो ।

 

तर, जामुनखाडी र टटुवामारीको भौगोलिक अवस्थिति फरक छ । जामुनखाडी राजमार्गको नजिक छ साथै अति तीब्र गतिमा शहरीकरण भइरहेका स्थानहरू यसका आसपास धेरै छन् । यसर्थ, त्यहाँ मनोरञ्जन गर्ने पाहुना (भिजिटर्स)हरुको सङ्ख्यामा कुनै कमी हुँदैन र आय आर्जन पनि पर्याप्त हुन्छ । तर, यो टटुवामारी पोखरीलाई यी माथि उल्लेख गरिएका अनुकूलताहरू छैन । यसर्थ, यो भौगोलिकरूपमा एकान्तमा परेकोले अपेक्षाकृत व्यवसायीकरण नहुँदा यो अनयुज्ड भइ खण्डहरमा परिणत हुने सम्भावना देखिन्छ ।

 

त्यो बेला यसलाई पुन सिमसारमा लान सम्भव हुनेछैन । किनभने अहिलेको पोखरीको भित्री बाहिरी भागको कङ्क्रिटयुक्त संरचनाले पुनः प्राकृतिक अवस्थामा फर्किन अनुमति दिँदैन । त्यो अवस्थामा यहाँ वातावरणीय सङ्कट उत्पन्न हुन्छ । अनि यसको जवाफदेहिता को हुने ? स्थानीय नागरिक समाज कि विभिन्न तहका सरकारहरू १ यसको जवाफ आगामी पुस्ताले खोज्नेछ ।

 

अबको निष्कर्षः
गत वर्षतिर यस चउनी पोखरीको सिमसार क्षेत्र अतिक्रमित हुँदैछ भनेको सुनेर मेची बहुमुखी क्याम्पस, वातावरण विज्ञानका उपप्राध्यापक तथा कछुवा उद्धार तथा संरक्षण केन्द्र, शहीद पार्क, सालबारीका मुख्यपालक तपिलप्रकाश राई र त्रिवि केन्द्रीय प्राणी विज्ञानका अनुसन्धाता अस्मित सुब्बालाई यस पोखरीको निरीक्षण गर्न अनुरोध गरेको थिएँ ।

 

उहाँहरूले निरीक्षण गरेपछि दिनुभएको प्रतिवेदनमा नयाँ संरचनाले गर्दा पोखरीको मौलिक सिमसार भएको भाग अस्तित्व नै नदेखिने गरी अस्तव्यस्त अवस्थामा पुगेको कुरा उल्लेख गरिएको थियो । त्यो अवस्थामा कसरी पुग्यो होला भन्ने एउटा जिज्ञाशा मनमा बाँचेकै थियो । यसर्थ यसपल्ट स्थानीय साथीभाइहरूको सहयोगमा आफैँ स्थलगत अवलोकन गर्न त्यहाँ पुगेको हूँ । स्थानीय धेरै साथीभाइहरूसँग भइरहेको संरचनाबारे जानकारी लिइयो ।

 

चउनी पोखरीको वर्तमान रूप हेर्दा एक वातावरण विज्ञानको विद्यार्थीको हैसियतले राम राम मात्र भन्न सकियो । किनभने त्यहाँ सुधार्नको लागि काँध थाप्ने ठाउँ नै देखिएन । पोखरीको भित्री भाग र बाहिरी भाग कङ्क्रिट वालले गर्दा मौलिक सिमसार क्षेत्र लोप भइसकेको थियो । वातावरणप्रति चासो साथै वन्यजन्तु संरक्षण गरिनुपर्छ भन्ने मान्यतामा हुर्केको हुनाले समयमै केही सुझाव दिए सुधार्लान् कि भन्ने भावना जागेर अहिलेसम्म निकै बर्बराएँ ।

 

त्यसैले निर्माण कार्य सुरु हुनअघि सम्बन्धित निकायमा आफ्नो अनुरोध पठाएको थिएँ । तर, सबै खोलाको गीत भएर गए । यस्तो गैरजिम्मेवार व्यवहारले निमुखा बनायो । त्यो बेला मैले मनोरञ्जन स्थलहरूको आवश्यक्ता सबैलाई पर्छ, यो आधुनिक सभ्यताको पहिचान पनि हो । तर, प्राकृतिक श्रोतको रूपमा रहेको सिमसारलाई नै ध्वस्त पारेर मनोरञ्जन पार्क स्थापना गर्नु कदापि बुद्धिमानी हुँदैन भन्ने भनाइ हो ।

 

अन्तमा, स्थानीय दाजुभाइ, दिदीबहिनीहरूलाई के अनुरोध गर्छु भने यदि तपाईहरूकै इच्छाअनुसार यो नयाँ चउनी पोखरी पार्क बनाइएको हो भने मैले केही भनी रहन परेन । तैपनि एउटा कुरा अझ भन्छु, यसबाट कम फाइदा र बढी हानी हुने कुरा घाम जस्तै छर्लङ छ । यसर्थ यसबाट हुने खतरनाक वातावरणीय प्रदूषण (फोहरमैला) बाट बच्न पनि सचेत बन्नुहोस् ! अनि यसबाट अधिकतम आय आर्जन गर्दै जीवनस्तर उकास्न सफल बन्नुहोस्, यही छ शुभकामना !!

गौरीगञ्ज २, (टटुवामारी) झापा ।
भदौ १७, २०७९

फोटो सौजन्यः देवान राई, टटुवामारी, गौरीगञ्ज । चित्रमाः विष्णु न्यौपाने, सुरेन्द्र राई, बुद्धिराज तामाङ, राजेन्द्र राई, मिलन राई, सन्दीप राई, लिकुवाली राई, बलराम राजवंशी, हर्क तामाङ, मिमिराज राई, खपिन रेग्मी ९निर्माण व्यवशायी कम्पनीका सुपरभाइजर आदि । ००००