धरान । सुनसरीको धरान उपमहानगरपालिकाभित्र सडकमा बसेर जीवन गुजारा गर्दै आएका ३२ जना सडक मानवलाई उद्धार गरिएको छ । मंगलबार राति १२ बजे इलाका प्रहरी कार्यालय धरानको सहयोगमा धरान उपमहानगरपालिकाले उनीहरुको उद्धार गरेको हो ।
धरानमा जथाभावी हिँड्ने सडक मानवका कारण सवारी साधन संचालनमा असर पर्नुका साथै यहाँको सुन्दरतामा समेत गम्भीर असर परेको थियो । सडक मानवले गर्ने फोहोरका कारण धरान दुर्घन्धित भएको थियो । सडकमा बालकदेखि बृद्ध र महिलाहरु जथाभावी हिँड्ने, भेला भएर शान्ति सुरक्षामा असर पुर्याउँदै आएका थिए ।
धरानलाई सडक मानवमुक्त शहर बनाउने उद्देश्यले उनीहरुलाई उद्धार गरिएको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघााले बताए । धरानको विभिन्न चोक र गल्लीमा बसेर कष्टकर जीवन बिताउँदै आएका १४ बालक, पाँच जना महिला र १३ जना पुरुषलाई उद्धार गरिएको उनले बताए ।
उनीहरुलाई धरानको भानु चोक, बुद्ध चोक, लाघांली चोक, पुतली लाइन, छाता चोक लगायतका स्थानबाट उद्धार गरिएको थियो । उद्धार गरिएका महिलाहरुलाई माया घर इटहरी, बालकहरुलाई बालबालिका खोज तथा उद्धार केन्द्र बेलबारी र अन्यलाई भियोसी इटहरी तथा विराटेश्वर मानव आश्रम विराटनगरमा पठाइएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताए ।
३२ जनालाई उद्धार गर्न राति ९ बजेदेखि १२ बजेसम्म समय लागेको उनको भनाइ थियो । सडकमा बस्ने बालबालिकासहितका सडक मानवहरु लागुऔषध सेवन गर्ने र चोरी डकैतीका घटनामा संलग्न हुने गरेकाले उनीहरुको उद्धारपछि धरानमा शान्ति सुरक्षा मजबुत बनाउन थप सहयोग पुगेको डिएसपी श्रेष्ठले बताए । इमेज खबरबाट