बिर्तामोड । मोवाइल र सुनका गरगहना चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर १० का २२ वर्षीय रितिककुमार शर्मा र वडा नम्बर ७ का रोशन राजवंशी रहेका छन् ।

 

भद्रपुर नगरपालिका वडा नम्बर ७ स्थित विशम टोलमा रहेको राजेन्द्र गिरीको घरबाट उनीहरुले मोवाइल र गरगहना चोरी गरेको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले माेबाइल, सुनकाे चुरा, पञ्चरत्न, रामलिला र चन्द्रमा चाेरी गरेका थिए ।

 

प्रहरीले उनीहरुको साथबाट रेड्मी कम्पनीको मोबाइल सेट थान-१, टुक्रा पारेको अवस्था रहेको सुनको चुराको टुक्रा थान-२, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा थान-२, सुनको ब्रास्लेट थान-१, कानमा लगाउने सुनको रामलिला थान-२ र टुक्रा पारेको अवस्थामा रहेको सुनको चन्द्रमाको टुक्रा थान-२ फेला पारेको छ ।

 

घरमा कोही नभएको समयमा घरभित्र प्रवेश गरी दराज फुटाएर उनीहरुले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दशी प्रमाणसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट झापा जिल्ला अदालतमा उपस्थित गराई म्याद थपी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार चोरी भएका सामग्री करिब १० लाखबराबरको रहेको छ ।