झापा । जिल्ला समन्वय समिति झापाको आयोजनामा दुई दिने क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठी सम्पन्न भएको छ ।

 

गोष्ठीमा बुधबार माइपारिका सातवटा पालिका र बिहीबार माइपूर्वका आठ वटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वाथ्य शाखाका प्रमुखहरु सहभागी थिए । सेभ द चिल्ड्रेनको आर्थिक र प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा क्षयरोग, एचआइभी, मलेरिया, कोभिड र डेंगु रोगका बारेमा प्रदेश र जिल्लाको वर्तमान अवस्थाका बारेमा जानकारी दिइएको थियो ।

 

कार्यक्रममा प्रदेश नम्बर १ स्वाथ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेशभरिमा हाल ३४७ जना डेंगु रोगका संक्रमित भएको बताए । जसमध्ये ११२ जना तेह्रथुम जिल्ला र २७ जना झापाका रहेको उनले जानकारी दिए ।

 

कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईले प्रदेशमा क्षयरोगको समस्या र समाधानका उपायका बारेमा जानकारी दिए । उनले देशभरमा प्रतिवर्ष ७९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको बताए । उनले गत आर्थिक वर्षमात्र १६ हजारको मृत्यु भएको जानकारी दिए ।

 

उनले मुलुकमा प्रत्येक दिन १९१ जना नयाँ क्षयरोगका विरामी थपिने र ४४ जनाको मृत्यु हुने गरेको बताए । सन् २०५० सम्ममा क्षयरोगमुक्त देश बनाउने उद्देश्य अनुरुप सरकारले काम गरिरहेको उनको भनाई छ । उनले आर्थिक वर्ष २०७८/७९ मा प्रदेशमा चार हजार ५ सय क्षयरोगका नयाँ बिरामी पत्ता लागेको बताए । जसमध्ये झापामा मात्र एक हजार १८२ जना रोगी पत्ता लागेका थिए ।

 

कार्यक्रममा गत साउन महिनामा फेला परेको मलेरियाका दुई जना बिरामीमध्ये एक झापामै रहेकोे डा. नितेश मिश्रले बताए । स्थानीय तहका प्रमुख उपप्रमुखले यी रोगका बारेमा आफूहरु गम्भीर भएर काम गरिरहेको बताए ।

 

सेद द चिल्ड्रन प्रदेश नम्बर १ का बरिष्ठ कार्यक्रम संयोजक कुमार ढकालले एचआइभीका बारेमा जानकारी दिएका थिए । संस्थाकी डिना कार्कीले स्वाथ्य आपूर्ति व्यवस्थापन केन्द्रले गर्ने कामका बारेमा बताएकी थिइन् । जिसस प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका थिए ।