अर्जुनधारा । किरात राई पत्रकार संघ झापाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार किरात राई यायोक्खा अर्जुनधाराको भवनमा भएको अधिवेशनले अध्यक्षमा पुनः राजन सम्पाङ राई (अर्जुनधारा) लाई सर्वसम्मत चयन गरेको छ ।

 

समितिको उपाध्यक्षमा रविकिरण वान्तावा राई (बिर्तामोड), सचिव सविना राई (दमक), सहसचिव पवन चाम्लिङ राई (शिवसताक्षी) र कोषाध्यक्षमा भारती राई (बुद्धशान्ति) पनि सर्वसम्मत चयन भए । त्यस्तै समितिको सदस्यहरुमा सोनिका राई (शिवसताक्षी), दीपसन राई (अर्जुनधारा), निरन राई (दमक) र सबिन राई (बिर्तामोड) रहेका छन् ।

 

अधिवेशनमा किरात राई पत्रकार संघ झापाले अग्रज राई पत्रकारहरुको सम्मानार्थ अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेको छ । पत्रकारिताको माध्यमबाट राई जातिको मुन्धुम, भाषा, कला, संस्कार संस्कृतिलाई उजागर गर्दै आएका झापाका अग्रज राई पत्रकारहरुको सम्मानका लागि उक्त कोष स्थापनाको घोषणा गरिएको संघका अध्यक्ष राजन साम्पाङले बताए ।

 

उनले संघले २ लाखको अक्षयकोष स्थापना गरि ‘किरात राई पत्रकार वर्ष उत्कृष्ट पुरस्कार’ वितरण गर्ने लक्ष्य रहेको सुनाए । संघले राई पत्रकारहरुको स्वास्थ्य बीमा, पत्रकारिता सम्बन्धि तालिमहरु पनि प्रदान गर्ने लक्ष्य लिएको अध्यक्ष साम्पाङले बताए ।

 

कार्यक्रममा प्रमुख अतिथि तथा संघकी केन्द्रीय सदस्य लीला राईले पाँच वटा मैन बत्ती बालेर कार्यक्रको उद्घाटन गर्दै झापाले राई पत्रकारहरुको सम्मानमा अक्षयकोष स्थापनाको घोषणा गर्नु प्रशंसनीय भएको बताइन् ।

 

कार्यक्रममा अग्रज पत्रकारद्वय दिपीन राई, रमेश समदर्शी राईले अक्षयकोषको स्थापना गरि अग्रजहरुलाई सम्मान गर्दै जानु आफैँमा राम्रो भएको बताउँदै कार्य योजना, कार्य विधि बनाएर अगाडि बढ्न सुझाव दिए ।

 

कोष स्थापनाको घोषणा लगत्तै कार्यक्रमका अतिथि तथा किरात राई यायोक्खा अर्जुनधाराका सदस्य विजय साम्पाङ राईले अक्षयकोषका लागि नगद पाँच हजार प्रदान गरेका थिए । यस्तै, अग्रज पत्रकार दिपीन राईले अक्षयकोषका लागि १० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

 

युवा व्यवसायी तथा समाजसेवी यायोक्खा सदस्य राईले राई कूलका पत्रकारहरुको जिम्मेवारी अन्य पत्रकारहरुको भन्दा फरक र पृथक भएको बताउँदै किरात राई जातिको मुन्धुम, भाषा, लिपी, संस्कारको संरक्षणमा महत्वपूर्ण भूमिका हुने हुँदा उहाँहरुको सम्मानमा सहयोग गरेको बताए ।

 

संघका अध्यक्ष राजन साम्पाङको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा अर्जुनधाराका सल्लाहकार भरतसिंह राई, यायोक्खा सदस्य विजय साम्पाङ राई, लिम्बू पत्रकार संघका केन्द्रीय सदस्य सेलिङ केसीलगायतले आ-आफ्नो विचार राखेका थिए । संघका उपाध्यक्ष रविकिरण बान्तवा राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सविना राईले गरेकी थिइन् ।