झापा । बिर्तामोड नगर प्रहरीले राजमार्ग छेउमा फोहोर फाल्दै गरेको अवस्थामा एउटा पिकअप नियन्त्रणमा लिएको छ । शुक्रबार राति बिर्तामोडको काँकरभिट्टा जाने बाटोमा फोहोर फ्याँक्दै गरेको अवस्थामा नगर प्रहरीले पिकअप नियन्त्रणमा लिएको हो ।

 

शुक्रबार राति करिब ८ बजेको समयमा बिर्तामोडको बसपार्क छिर्ने सडक नजिकैको चिया बगान क्षेत्रमा ग्यारेजबाट निस्किएको फोहोर फाल्दै गरेको अवस्थामा भेषराज खड्का चालक रहेको प्र १-०१-००१च ७८२८ नम्बरको पिकअप प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

बिहानी प्याकेजिङ्ग उद्योग बिर्तामोडको व्यानर टाँसिएको उक्त पिकअप आवश्यक कार्वाहीका लागि बिर्तामोड नगरपालिकामा राखिएको बिर्तामोड नगर प्रहरी इन्चार्ज किरण पाण्डेले जानकारी दिए ।

 

नगरपालिकाले यसअघि भदौ १४ गते सोही स्थानमा फोहोर फाल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको मे १ च १९७० नम्बरको पिकअपलाई ५ हजार रुपैँया जरिवाना गराएको थियो ।