लिलक सिटौला,
इलामबाट बसको छतमा बसेर झापाको बिर्तामोड आइपुगियो । बिर्तामोडबाट उत्तरतर्फ शनिश्चरे जान जीप चढ्नु पथ्र्यो, अहिले पनि त्यस्तै नै छ । घर आइयो । घर सानो थियो । तर, बजारमै भएको कारण व्यवसाय चल्थ्यो । घरमा दुःख, सुख सबै थियो । त्यो बेलामा म जे जस्तो भए पनि परिवारभित्रको दायित्व पनि मेरै थियो । अर्थात्, घर व्यवहार भोलि पनि मेरै जिम्मा आउने कुराको बोझ मलाई थियो । त्यो कुरा बुझेको पनि थिएँ ।

 

यहाँ देश र समाजको ठेक्का धनीमानी मानिसले नै गर्नुपर्ने जिम्मा लिएका थिए । तर, त्यो होइन । एउटा गरिब परिवारको मान्छेले पनि यो देशको जिम्मा लिन सक्छ, यहाँ देश चलाउने कुरामा धनी र गरिबको कुरो आउँदैन । त्यो आयो भने गलत हुन्छ । त्यस कारण सबै पक्ष मिलेर आआफ्नो सामाजिक जीवनको भूमिका गर्ने स्वतन्त्रता छ ।

 

माथि जे भने पनि म शनिश्चरे आएको थिएँ, शनिश्चरे बजार अर्थात् शनिश्चरे गाविसलाई त्यो बेला मैले केही गन सकिनँ होला पछि केही गर्नेछु भन्ने सोच चै मनमा थियो । घरमा २ दिन बसेर पसिपल्ट इलाम जाने सुरमा थिएँ । बजारको सानो घरबाट के बोक्ने, के नबोक्ने ? आमाले तीन सय रुपैयाँ दिनुभो, राम्रो पढ्नु भनेर । आमालाइ के थाहा छोरा के गर्छ भनेर ! पैसा थाप्नुको अर्थ पर्सि बिहानै शनिश्चरेहुँदै खुदुनाबारी, दानाबारीको बाटो भएर इलामको भञ्ज्याङ हिँडेरै यात्रा गर्नु थियो । जानुभन्दा एक दिन अगाडि मलाई खबर भो, सिके प्रसाईको घरमा आउनु भनेर । मलाई के थियो र ! म त्यही खोज्दै हिँडेको युवा । त्यो बेला रिक्सा भाडा शनिश्चरेदेखि बिर्तामोडको ५ रुपैयाँमात्र थियो । तर, त्यही ५ रुपैयाँ ठुलो हुन्थ्यो ।

 

खल्तीमा १० रुपैयाँ थियो, आउन जानको भाडा भएकाले सुरक्षित भएको भान हुन्थ्यो । म पाना (चालकको नाम)को रिक्सा चढेँ । रिक्सावाल पनि राजनीतिको कुरो मसँग गर्न रुचाउँथ्यो । मानौ उ पनि कांग्रेस नै हूँ जसतो । वास्तवमा उसको सम्पूर्ण परिवार अहिले पनि रखैमा भोट हाल्छन् । मेरो गन्तव्य देवी बस्ती नै थियो । मैले पाना दाइसँग विदा मागेर भरत बाबुको घर प्रवेश गरेँ ।

 

शायद मलाई कुरेर बसेको जस्तो लाग्यो । म पुग्दा झसङ्ग भएँ, त्यहाँ गिरिजा बाबु अर्थात् गिरिजाप्रसाद कोइराला, सिके प्रसाई र टंक बस्नेत थिए । मलाई असहज महसुस भयो । म शनिश्चरे माविमा पढ्दा गिरिजा दाज्युलाई लिएर फत्तेबहादुर बुढाथोकीको घरमा गएको थिएँ । गिरिजा दाज्यु मेरो लागि नौलो थिएन तर टंक दाइलाई त्यहाँ देख्दा म अलिकति सशंकित भएकै थिएँ, र हो पनि । कुराकानी भो । गिरिजा दाज्युले भन्नुभो, अब २०३६ साल पछाडि अलिकति खुकुलो भएको छ । कांग्रेसहरुको संख्या बुढाउनु पर्ने भो । यो रसिद तपाईहरुले काटेर कांग्रेसीहरुलाई मात्र सदस्य बनाउनु पर्यो ।

 

टंक दाइले भन्नुभो, मैले गिरिजा दाइ र सिकेलाई भने म कांग्रेसभन्दा नेविसंघको झण्डा बोकेर हिँड्छु, म यो काममा छुइँन भन्दा मलाई छुट भो । यो सबै काम टंक बस्नेत दाइले लिनु भएछ । मैले पाँच दिनपछि बुझेँ । म घर फर्किसकेको थिएँ । आमाको स्वास्थ्य राम्रो नै भयो, राम्रो पढ्नु भन्नुहुन्थ्यो । आमालाई के थाहा ? म के गर्दैछु भनेर । अहिले पनि छोराछोरीहरु अमेरिका, युरोपमा छन् । बाबुआमालाई के थाहा ? के गर्दैछन् भनेर । जेहोस्, म बिहानै ३ बजे उठेर शनिश्चरेहुँदै खुदुनाबारी, दानाबारी, चिसापानी बाटोमा खाना खाँदै साँझपख गोलाखर्कको भञ्ज्याङमा पुग्दा आफ्नै घर आएजस्तो लाग्यो । थाकेर भुतुक्कै । खाना कति रुचेको, गज्जब छ जिन्दगी । मस्त निन्द्रामा ।

 

भोलिपल्ट फेरि इलाम क्याम्पसको पढाइ छाड्नु भएन । क्याम्पस पुग्दा टंक बस्नेतलाई फिक्कलबाट पक्राउ गरि इलाम जेलमा भन्ने खबर सुनियो । म तीनछक्क परेँ । त्यो दिनभरिकै पढाइ छाडेर म बजारतर्फ लागे । त्यहाँ मेरो साथी थियो, वेदप्रकाश शर्मा । त्यसको दोकानमा मालपुवा खाएर सबै कुरा बुझेर गोल बस्तीतिर लागेँ ।